बिराज रोस्यारा
कैलाली । कैलालीको सहजपुर–अलाड सडक निर्माणमा चरम लापरबाही भएको छ । सडक निर्माणमा मापदण्ड बिपरित गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ भने ठेकेदार कम्पनिको ढिलासुस्तीले सर्वसाधरणले हैरानी खेप्नु परेको छ ।
निर्माण कम्पनीको ढिलासुस्ती र स्थानीय सरकारले बेवास्ता गरेका कारण निर्माणाधीन सडक मापदण्ड बिपरित र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका छन् । निर्माणाधीन सडकको पर्खालमा गुणस्तरहीन सिमेन्ट प्रयोग भइरहेको छ ।
सडक खण्डमा ह्युमपाइप राखेपछि माटोमात्रै भरेका कारण ठाउँठाउँमा गाडी फस्ने समस्या बढेको छ । ठेकेदारले ह्युमपाइप राखेको ठाउँमा गाडीहरु फसेर यात्रुहरु अलपत्र पर्ने गरेका छन् । सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको गाउँपालिकालाई स्थानीयवासिन्दाले पटक पटक गुनासो गरे पनि कुनै सुनुवाई नभएको स्थानीय पदम धामीको गुनासो छ ।
सडकमा प्रयोग भइरहेको कमसल सामग्रीको स्थानीय सरकारले पनि रखेदेख गर्नुपर्नेमा कुनै वास्ता नगरेकाले गाउँपालिकाको मिलेमतो भएको आरोप सर्वसाधरणले लगाएका छन् । अलाडदेखि सहजपुर सम्मको सडक नबन्दा स्थानिय स्तरमा उत्पादन हुने तरकारी लगायतका बस्तु घरमै कुहिन थालेको स्थानिय कलाधर कडेलले बताउनु भयो ।
गुणस्तरहीन र मापदण्ड विपरीत सडक निर्माण भइरहँदा पनि कुनै निकाय चुइक्कसमेत नबोल्दा सडकको बजेटमा मिलेमतो भएको उनीहरुको आरोप छ । ठेकेदारले साइडमा पुरानो सेट भएको सिमेन्ट प्रयोग भएको भन्दै स्थानीयले विरोध गरी रहेका छन् । तर पनि पेटी ठेकेदारले अटेरी गरिरहेका छन् ।
चुरे गाउँपालिका असिस्टेनट सबइन्जिनियर जयराज भण्डारीले सहजपुर–अलाड सडक खण्डमा कमसल सामग्री प्रयोग गरेर निर्माण गरेको पर्खाला आफूले भत्काइदिएको बताउनु भयो । कमसल सामाग्री प्रयोग गरेर बनाएको पर्खाल भत्काउने गरको र सम्झाउने गरेपनि अटेर गरीरहेको उहाँको भनाई थियो ।
पानी पिच र आवश्यक ठाउँमा नाली निर्माण गर्ने गरी झण्डै करसहित ३ करोड ६४ लाख रुपैयाँमा ६ किलोमिटर सडक खण्ड ठेक्का सम्झौता भएको थियो । उक्त सडक खण्डमा जागृति निर्माण सेवाले ठेक्का पाएको थियो । २०७५ मा ठेक्का सम्झौता भएको सहजपुर–अलाड सडकको निर्माण अवधि गत असारमा सकिए पनि अहिलेसम्म आधा मात्र काम भएको छ ।
समयमै काम गर्न नसकेपछि ६ महिना म्याद थप भए पनि काम सुस्त हुँदा सर्वसाधरणले सास्ती खेप्नु परी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्