
काठमाण्डौं, पुस ११ । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर युनाईटेडले शानदार जित निकालेका छन् ।
गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले लेष्टर सिटीलाई ४–० ले पराजित गर्यो ।
लेष्टर सिटीकै मैदानमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मीनोले दुई तथा जेम्स मिल्नर र अलेक्जेण्डर आर्नोल्डले एक एक गोल गरे ।
गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले न्युकासल युनाईटेडलाई ४–१ ले हरायो ।
आफ्नै मैदानमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन एन्थोनी मार्टीयलले दुई तथा मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गरे ।
प्रिमियर लिगकै खेलमा टोटनह्याम हट्सपरले ब्राइटनलाई २–१ ले हराउँदा साउथह्याम्पटनले चेल्सीमाथि २–० को जित निकाल्यो ।
आर्सनललाई बर्नमाउथले १–१ गोलको बराबरीमा रोक्दा शेफिल्ड युनाईटेड र वाट्फोर्डले पनि १–१ गोलको बराबरीमै चित्त बुझाए ।
एभर्टनले बर्न्लेमाथि तथा एस्टन भिल्लाले नरिच सिटीमाथि १–० को जित निकाले ।
गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ५२ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ ।
एक खेल बढी खेलेको लेष्टर सिटी ३९ अंकसहित दोस्रो स्थानमा रहँदा १८ खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा यथावत छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्