काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक ३०१ सदस्यीय केन्द्रीय कमिटीसहितको सांगठनिक संरचना निर्माण गर्दै सम्पन्न भएको छ ।
पार्टी अध्यक्ष माधव नेपालको अध्यक्षतामा बसेर आज सम्पन्न भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकले अध्यक्षसहित १८ जनाको पदाधिकारी बनाएको छ ।
जसमा अध्यक्ष, वरिष्ठ नेता, नेता एक/एक जना, उपाध्यक्ष नै सात जना राखिएको छ । महासचिव एक, उपमहासचिव तीन तथा सचिव चार जना रहेका छन् ।
आगामी तीन महिनाको कार्ययोजनासमेत तय गरेको बैठकले केन्द्रीय कमिटीबाहेक तल्ला कमिटीहरूमा दुई उपाध्यक्ष मात्रै राख्ने भएको छ । पूर्ण र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय सदस्य रहँदा पोलिटब्यूरो ७१ र स्थायी समिति ३५ सदस्यीय हुनेछ ।
७०१ सदस्यीय केन्द्रीय परिषद, १५१/१५१ सदस्यीय सल्लाहकार समिति र ज्येष्ठ नागरिक मञ्च रहनेछ । विभागहरू २५ सदस्यीय हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
पार्टीले हरेक कमिटीमा महिला र युवाको संख्या एक तिहाई पुर्याइने पनि उल्लेख छ । दक्षिणपन्थी अवसरवाद र विसर्जनवादको भण्डाफोर गर्न नेता कार्यकर्तालाई निर्देशन दिँदै बैठकले वडा तहसम्म संगठन विस्तार गर्ने योजना पनि बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्