१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


बैतडीमा व्यापारी मृत फेला, हत्या आशंका


0
Shares

विनोद सिंह विष्ट
बैैतडी । बैतडीमा आज एक व्यापारी मृत अवस्थामा फेला परेका छन् । सुर्नया गाउँपालिका ४ को लेकडाणा घर भई सन्सेरीमाण्डौमा ब्यावसाय गर्दै आएका ४५ वर्षीय कमल सिह महरा मृत फेला परेका हुन् ।

महरा संसेरी माण्डौकै एक पसल अगाडी मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । कमलसिंहको शव बिहीबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक महराको टाउको, छाती र शरिरका अन्य भागमा पनि चोट रहेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।

कमलसिंहको हत्या गरेर फालेका आशंका गरिएको छ । प्रहरीले भने घटनाको अनुसन्धान कार्य सुरु गरिएकोेले अहिले नै हत्या गरिएको भन्न नसकिने जनाएको छ । स्थानीयले भने घटनाको सुक्ष्म ढंगबाट छानविन गरिनुपर्ने माग गरेका छन् ।