२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


मच्छिन्द्र शीर्ष स्थानमा, १० जनामा सीमित एनआरटीले च्यासललाई हरायो


0
Shares

काठमाडौं, पुस ९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत् बुधबारका खेलमा मच्छिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी) विजयी भएका छन् ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा मच्छिन्द्रले फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गरेको हो ।

विदेशी खेलाडी पिटर सेगुन, सोमिदे एड्लाजा र रेजिन शुब्बाले मच्छिन्द्रका लागि एक/एक गोल गरे ।

एनआरटीले च्यासल युथलाई हरायो

बुधबारै दशरथ रंगशालामा भएको दोस्रो खेलमा एनआरटीले च्यासल युथ क्लबलाई २–१ ले पराजित गर्‍यो ।

एनआरटीका लागि खेलको २३औं मिनेटमा जुनियर निकेनगुइन र ८६औं मिनेटमा दर्शन गुरुङले एक/एक गोल गरे ।

च्यासलका लागि खेलको ‘इन्जुरी’ समयको अन्तिम क्षणमा अमिर श्रेष्ठले एक गोल गरे ।

एनआरटी १० जना खेलाडीमा सीमित

जोर्डन ओवोनाले रातो कार्ड खाएपछि ७१ मिनेटपछि एनआरटी १० जना खेलाडीमा सीमित भएर खेल्नुपरेको थियो ।

च्यासलबाट खेलिरहेका सन्तोष साहुखल यो खेलमा गोल गर्न चुक्दा नेपाली लिगको इतिहासमा शतक गोल गर्ने खेलाडीको नाम लेखाउन चुकेका छन् । जारी लिगमा ३ गोल गरिसकेका सन्तोषले लिगमा अहिलेसम्म ९९ गोल गरेका छन् ।

मच्छिन्द्र शीर्ष स्थानमा

यी खेलपछि लिगको अंकतालिकामा ३ खेलबाट ६ अंकमा रहेको मच्छिन्द्र गोल अन्तरका आधारमा मनाङ–मर्स्याङ्दी क्लबलाई पछाडि पार्दै शीर्ष स्थानमा पुगेको छ ।

त्यस्तै, एनआरटी ४ अंकसहित च्यासल, जावलाखेल युथ क्लब र थ्रीस्टार क्लबलाई गोल अन्तरमा पछाडि पार्दै तेस्रो स्थानमा पुगेको छ ।

बिहीबारका खेल

लिगअन्तर्गत् बिहीबार मनाङले एन्फा कम्प्लेक्समा मध्याह्न १२ बजे ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सित तथा संकटा क्लबले दिउँसो ३ बजे दशरथ रंगशालामा जावलाखेलसित खेल्नेछ ।