४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


दर्शक बढाउन ‘एन्फा’ले ल्यायो पुरस्कार योजना, विदेश भ्रमणसम्मको मौका


0
Shares

काठमाडौं, पुस ८ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दर्शक बढाउन पुरस्कार योजना ल्याएको छ ।

दर्शकहरुका लागि ल्याइएको पुरस्कार योजनामा राष्ट्रिय टोलीको जर्सी प्राप्त गर्नेदेखि नेपाली खेलाडीहरुसित खेल हेर्न विदेश भ्रमणमा जानेसम्मको रहेको छ ।

एन्फाले मंगलबार पत्रकार सम्मेलन गरी हरेक चरणको खेलको समाप्तिपछि पुरस्कार बाँड्ने जनाएको छ ।

२०० रुपैयाँको टिकट काट्ने २० जनालाई आकर्षक पुरस्कार र ५०० रुपैयाँको टिकट काट्ने पाँचजनालाई राष्ट्रिय टोलीको जर्सी प्रदान गरिनेछ ।

तेस्रो चरणदेखि १३औं चरणसम्म २७५ जना पुरस्कृत हुने एन्फाले जनाएको छ ।

त्यस्तै, प्रतियोगिता सकिएपछि दुईजनाले राष्ट्रिय फुटबल टोलीसित विदेश भ्रमणको अवसर पाउने एन्फाले जनाएको छ ।

एन्फाले नेपालमा आयोजना हुने अष्ट्रेलिया र चाइनिज ताइपेइविरुद्धको विश्वकप छनोट फुटबलको खेलको टिकट पाउने अवसर पनि दिएको छ ।

२०० रुपैयाँको टिकटमा १० र ५०० रुपैयाँको टिकटमा १५ जनालाई ‘भीआइपी’तर्फ तथा २०० रुपैयाँको टिकटमा ५० र ५०० रुपैयाँको टिकटमा ५० गरी १०० जनालाई साधारण पारापिटतर्फको टिकट दिनेसमेत एन्फाले जनाएको छ ।

विद्यालयका विद्यार्थीहरुलाई भने विशेष छुटको व्यवस्था रहेको जनाइएको छ ।

तुलनात्मकरुपमा दर्शकको सहभागिता नभएकाले फुटबल ‘क्रेज’ बढाउन एन्फाले नयाँ योजना ल्याएको जनाएको छ ।