६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


दशरथचन्दमा जात्राको लागि दुई दिन सार्वजनिक बिदा


0
Shares

बैतडी । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले अनन्त चर्तुदशी अवसरमा लाग्ने मेलाको लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिका–२ स्थित देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा असोज ३ र ४ गते लाग्ने मेलाको लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरप्रमुख नरेन्द्रसिंह थापाका अनुसार असोज ३ र ४ गते नगरपालिका अन्र्तगत रहेका सबै सरकारी कार्यालय, गैर सरकारी संस्थामा बिदा हुनेछ ।

निङ्गलाशैनी भगवती मन्दिर प्रसिद्ध शक्तिपीठका रुपमा चिनिन्छ । यहाँ हरेक बर्ष भाद्र शुक्ल त्रयोदशीदेखि शुरु हुने यो जात्रा भाद्र शुक्ल पूर्णीमाका दिन समापन हुने गर्दछ ।

यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन समेत रही आएको छ । यो जात्रामा बली दिने चलन नरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुखीया मानबहादुर बोहराले बताउनुभयो । यो जात्रामा निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थीहरु आउने गर्दछन् । यो जात्रामा सोराड र बैतडीको जात्रा आकर्षणको रुपमा रहेको बोहराले बताउनुभयो ।

यहाँ वर्षमा चार पटक भव्य मेला लाग्ने लाग्ने गर्दछ । असोज र चैतको अष्टमीमा अष्टमी मेला, मंसिर शुक्ल पूर्णिमामा जमानी जात्रा र भाद्र शुक्ल चर्तुदशीमा जात्रा लाग्ने गर्दछ ।

असोज र चैतको अष्टमीको जात्रामा बलि हुने भएपनि जमानी जात्रा र अनन्त चर्तुदशीमा भने बलि दिने चलन रहेको छैन् ।