Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


भौतिक पढाइका लागि विद्यालय तयार, अभिभावक भन्छन्– ‘अब दशैंपछि’


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै आलोपालो पद्धतिमा कक्षा सञ्चालनको लागि विद्यालयहरू शैक्षिक वातावरण बनाउन तल्लिन छन् । अभिभावकहरू भने दशैंअघि विद्यालय वैकल्पिक माध्यमबाटै सिकाइ निरन्तर हुनुपर्ने पक्षमा छन् ।

स्वास्थ्य सुरक्षाको ग्यारेन्टीमै शंका गर्दै अभिभावकहरू दशैं अगाडि आफ्ना बालबालिका विद्यालयमा पठाउन चाहँदैनन् । दशैं आउन तीन हप्ता बाँकी रहेको बेला त्यसअघि नै विद्यालय खोल्नुको कुनै तुक नरहेको अभिभावक महासंघका वरिष्ठ उपाध्यक्ष सुवास भण्डारी बताउनुहुन्छ ।

‘दशैं आउन १५–२० दिन बाँकी छ, त्यसपछि पुनः कम्तिमा १० दिन त विद्यालय बन्द हुँदैछ,’ उहाँ भन्नुहुन्छ, ‘अझै १५ दिन कुरौं, दशैँ सकिएपछि अवस्था पनि थाहा हुन्छ, अनि सुरु गरौं ।’

अभिभावकको मत एकातिर छ, काठमाडौं महानगरपालिकाभित्रका कतिपय विद्यालय भने तत्काल खोल्न कम्मर कसेर लागेका छन् । उपत्यकाका सामुदायिक र निजी विद्यालयहरू सरकारले दिएको निर्देशनबमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गरेर सञ्चालन गर्न लागेका छन् ।

काठमाडौं उपत्यकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले अभिभावक र विद्यालय सञ्चालकहरूबीच भद्र सहमति भएको छ । शिक्षा मन्त्रालयले भने असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने व्यवस्था गरिदिएको छ । स्वास्थ्य मन्त्रालय चाहिँ हतार नगर्न आग्रह गरेको छ ।

गजब त के छ भने, शिक्षा मन्त्रालय विद्यालय खोल भन्छ, स्वास्थ्य मन्त्रालय हतार नगरौं भन्छ । सरकारी निकायबीचको यो गाइजात्रे शैलीलाई चुनौती दिँदै काठमाडौं र ललितपुरका कतिपय स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् ।

देशभरका स्थानीय तहले आफ्नो अनुकुल विद्यालय खोल्ने प्रयास गरिरहेका छन् । तर, काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाले औपचारिक रूपमा विद्यालय खुलाउने निर्णय गरिसकेका छैनन् ।