Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


विदेशी मुद्रा सञ्चिति रकम ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुग्यो, ११ महिनामै ४० प्रतिशत बढ्याे


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकमा विदेशी मुद्रा सञ्चिति रकम ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको र यो सञ्चिति रकम हालसम्मकै उच्च भएकाे जनाएकाे छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको गत जेठ मसान्तसम्मको वित्तीय विवरण अनुसार यस्तो सञ्चिति रकम ११ महिनामै ४० दशमलव ३ प्रतिशत बढेको हो । गत वर्षको असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति रकम २६ खर्ब ७७ अर्ब रुपैयाँ बराबर थियो । अमेरिकी डलरमा भने सोही अवधिमा यस्तो सञ्चिति रकम २६ दशमलव ५ प्रतिशतले बढेको छ । जेठ मसान्तसम्म अमेरिकी डलरमा करिब २४ अर्ब ६८ करोड डलर बराबर सञ्चिति मुद्रा छ ।

सोही सञ्चिति रकममध्ये राष्ट्र बैंकमा ३३ खर्ब ३० अर्ब र बैंक तथा वित्तीय संस्थामा ४ खर्ब २५ अर्ब रुपैयाँ बराबर छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको हाे।

राष्ट्र बैंकले हालको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको सञ्चितिले २२ दशमलव ५ महिनाको वस्तु आयात र १९ दशमलव १ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने जनाएकाे छ।