
काठमाडौं । नेपाल प्रहरीले गैरकानुनी गतिविधिमा संलग्न भएको आशंकामा १ सय २३ जना चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको छ ।
पर्यटक भिसामा नेपाल आएर नेपालमा गेरकानुनी गतिविधिमा संलग्न रहेको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चिनियाँ प्रहरीको अनुसन्धान ब्युरोको नेतृत्वमा नेपाल आएको चारजना चिनियाँ प्रहरीको समन्वयमा उनीहरुलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरले काठमाडौंका बुढानीलकण्ठ, मनमैजु, सामाखुशी, बाँसबारीलगायत ठाउँमा छापा मारेर नियन्त्रणमा लिएको हो ।
चिनियाँ प्रहरी र नेपाल प्रहरीको टोलीले सो क्षेत्रका घरहरुमा घेरा हाली नियन्त्रणम लिएको हो ।
मनमैजु तार्केश्वर वडा नम्बर १० मा रहेको पाँच तले घरमा महिनाको १२ लाख पजास हजार र सोही वडाको अर्को तीन तले घरमा महिनाको १ लाख २० हजार दिने गरी घर भाडामा लिइ गैरकानुनी कृयाकलाप गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।
नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेकोले नियन्त्रणमा लिएको र थप अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
सुराकीको आधारमा हिजो दिउँसो २ बजेदेखि सुरु गरेको सर्च अभियानका क्रममा आवश्यक प्रक्रिया पूरा गरी राति साढे १२ बजेसम्म उनीहरुलाई पक्राउ गरी काठमाडौंका विभिन्न प्रहरी वृतहरुमा लगिएको छ । पक्राउ पर्नेमा १ सय १३ जना पुरुष र ६ जना महिला रहेका छन् ।
पक्राउ गर्ने क्रममा एक तलाबाट हाम फालेका एक युवा घाइतेसमेत भएका छन् ।
पक्राउ परेकाहरुको साथबाट प्रहरी सयौं ल्यापटप र कम्युटर बरामद गर्नुका साथै अन्य विद्युतीय उपकरणहरु बरामद गरेको छ ।
उनीहरुले नेपालमा बसेर अन्तर्राष्ट्रिय स्तरमा साइबर क्राइमको धन्दा गर्ने गरेको आशंका प्रहरीको रहेको छ ।
पछिल्लो समय बैंक तथा वित्तिय संस्था ह्याकिङमा चिनियाँहरुको संलग्नता बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्