२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो


0
Shares

काठमाडौं, साउन १६ । सनम शाक्य हत्याकान्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।

सुन तस्करी र संगठित अपराधका विभिन्न पाटालाई केलाएर तयार पारिएको सो प्रतिवेदन ७५२ पृष्ठको छ ।

समितिले सुझाव, घटना विवरण, तथ्य र सम्भावनासहितका विषय समेटेर चार महिनासम्म गरेको अनुसन्धानलाई समेटेको छ ।

गत माघमा दुबईबाट नेपाल आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको र फागुनमा सनम शाक्यको हत्या भएपछि वि.सं. २०७४ चैत २० गते मन्त्रिपरिषदको बैठकले छानबिनका लागि समिति गठन गरेको थियो ।

जेठ ३० गतेसम्म अनुसन्धान सक्नेगरी गठित समितिले अनुसन्धान समयमा नसकेपछि सरकारले असार ३२ गतेसम्म म्याद थपेको थियो ।

समितिले अनुसन्धानकाक्रममा सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, छिरिङ वाङदेललगायतलाई पक्राउ गरेको थियो ।

यस्तै, प्रहरीबाट पूर्वप्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, श्याम खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेललगायतलाई पक्राउ गरेको थियो ।

सुन तस्करी र सनम हत्यापछि ७५ जनाविरुद्ध अभियोजन मुद्दा दायर भएको छ भने ४५ जना पक्राउ परिसकेका छन् । रासस