४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


ए डिभिजन लिग फुटबलमा शेर्पा र सशस्त्रले बराबरी खेले


0
Shares

काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले लगातार दोस्रो बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा शेर्पाले सशस्त्र प्रहरीको एपीएफसंग १/१ गोलको बराबरी खेलेको हो ।

मध्यान्तरसम्म गोलरहित बराबरी भएको खेलको ४७ औं मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए ।

त्यसको ११ मिनेटपछि आशिष लामाको क्रसमा प्रविन कुमार स्याङतेनले गोल गर्दै सशस्त्रलाई बराबरीमा ल्याए ।

पहिलो खेलमा सशस्त्र मनाङ मस्र्याङ्दी क्लबसंग २÷० ले पराजित भएको थियो भने हिमालयनले नेपाल पुलिस क्लबसंग गोलरहित बराबरी खेलेको थियो ।

लिगमा दोस्रो चरणको खेल चलिरहँदा शीर्ष स्थानमा रहेका मच्छिन्द्र युथ क्लब, च्यासल युथ क्लब र जावलाखेल युथ क्लबको समान चार अंक छ ।

फ्रेन्ड्स क्लब र सरस्वती युथ क्लबले अंकको खाता खोलेका छैनन् । लिग अन्तर्गत सोमबार मध्यान्ह १२ बजे मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब तथा दिउँसो ३ बजे थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । दुबै खेल दशरथ रङ्गशालामा हुनेछन् ।

मनाङ र आर्मीको खेल एन्फा कम्प्लेक्समा हुने तालिका भए पनि नेपाली १५ वर्ष मुनिको महिला टिमले भुटानसँग एन्फा कम्प्लेक्समा दिउँसो २ बजे मैत्रीपूर्ण खेल खेल्ने भएका कारण दुबै खेल रंगशालामा सारिएको एन्फाले जनाएको छ ।