काठमाडौं, भदौ २८ । आफैलाई तारो बनाउदै प्रमुख विपक्षी नेकपा एमालेले निरन्तर अवरुद्ध गरेको संसद बैठक सहज बनाउने पहल स्वरुप सभामुख अग्नि सापकोटाले सोमबार आयोजना गर्नु भएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ ।
संसद भवन बानेश्वरमा झण्डै साढे २ घण्टा बसेको बैठकमा संसदमा अवरोध गर्दै आएको एमालेनै सहभागी नभएपछि कुनै सहमति जुटेन । नेताहरुले भने सभामुख सापकोटालाई पुनः प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव दिएका छन् । बैठकपछि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसकेको जानकारी दिनुभयो ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सभामुख सापकोटा र कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिपक्ष दलका नेताहरुलाई हटलाइनमा फोन गर्दा आजको बैठकमा उपस्थित हुन सकिदैन भन्ने जवाफ दिएको जानकारी बैठकमा प्राप्त भएको बताउनुभयो । प्रतिपक्षी एमालेलाई समेत सहभागी बनाएर छलफल गर्न सभामुखलाई नेताहरुले सुझाव दिएको पौडेलले जानकारी दिनुभयो । कानुन बमोजिम नेकपा एकीकृत समाजवादी गठन भएकाले त्यही बहानामा बैठकमै आउँदिन भन्नु एमालेको हठ र इगोमात्रै भएको उहाँको प्रतिक्रिया थियो ।
नेताहरुले एमालेले विगतमा पनि ५९ दिनसम्म संसद अवरुद्ध गरेकाले अहिले २–३ दिनमात्र भएको भनेर बैठकमा ठट्टा समेत गरेका थिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीबाट माधव नेपाल, जसपाबाट उपेन्द्र यादव, लोसपाबाट महन्त ठाकुर, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट पौडेल, कानूनमन्त्री कार्की सहभागी हुनुभयो ।
राप्रपा सांसद राजेन्द्र लिङ्देन भने उपत्यकाबाहिर रहेकाले उपस्थित नभएको बताइएको छ । आफूले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसदको सूचना नटाँसेर सभामुखले उनीहरूलाई नयाँ दल खोल्न सहज बनाइदिएको भन्दै एमालेले लगातार संसद बैठक अवरूद्ध गरिरहेको छ ।
एमालेले ती सांसदलाई कारबाही गर्न वा पद त्याग गर्न सभामुख सापकोटामाथि दबाब बढाउन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्