१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना


0
Shares

काठमाडौं, पुस ५ । पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार एक बुलेटिन जारी गर्दै पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट आइ चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउ आग्रह गरेको छ ।

त्यस्तै, मौसमविद्काअनुसार तराईमा बाक्लो हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको छ । चिसोले तराईको जनजीवन कस्टकर बनेको छ ।

हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

पश्चिमी भू–भागलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी/हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको औंल्याइएको छ ।

आइतबार देशका पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जनाइएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ५.० डिग्री सेल्सियस रहेको छ । रासस