६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


यथास्थितिमा एमसीसी स्वीकार नगर्न सरकारलाई वाईसीएलको सुझाव

संविधानसँग बाझिएका बुँदाहरू नसच्याइ पारित नगर्न सरकारलाई चुनौती

0
Shares

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)मा आवद्ध युवा संगठन वाईसीएल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई स्वीकार नगर्न सरकारलाई सचेत गराएको छ ।

सुमन देवकोटा नेतृत्वको वाईसीएल नेपाल केन्द्रीय समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बूँदाहरू नसच्चिएसम्म सम्झौता पारित नगर्न सरकार र संघीय संसदलाई सचेत गराएको हो ।

वाईसीएल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तराष्ट्रिय सहयोग, अनुदानहरू स्वीकार गर्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमसीसीलगायतका कुनै पनि सहयोग, अनुदानहरू देशको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखी स्वीकार गर्न सकिँदैन । नेपालको संविधानसँग बाझिएका एमसीसीका बूँदाहरू नसच्याइ पारित नगर्न यो राष्ट्रिय भेला सरकारलाई चुनौती दिन्छ ।’

गत भदौ १२ गते १५ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णयहरू सार्वजनिक गर्दै वाईसीएल नेपालले भारतसँग भएको सबै सीमा समस्या तत्काल समाधान गर्न पनि सरकारसँग माग गरेको छ ।

त्यसैगरी युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्न, उमेर पुगेका युवा तथा विद्यार्थीहरूका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको संयोजक देवकोटाले बताउनुभयो ।

वाईसीएलले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएकाहरूको छानवीन गरी दोषीमाथि कारबाही गर्न ढिलाई नगर्न पनि सरकारलाई दवाव दिएको छ ।