१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


आलम र कुलमानको मुद्दाको सुनुवाइ स्थगित


0
Shares

काठमाडौं । रौतहट बम विस्फोटका योजनाकारको आरोपमा थुनामा रहेका पूर्वमन्त्री मोहमद अफ्ताब आलमको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा पेशी चढे पनि हेर्न नमिल्ने सूचीमा चढाइएको छ । न्यायाधीश फुँयालले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

बम विस्फोटसम्बन्धी मुद्दा जिल्ला अदालत रौतहटमा छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि आलम हाल नख्खु कारागारमा छन् । उनले गत वर्ष नै साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । आलमको रिट निवेदन नौ पटक पेशीमा चढे पनि सुनुवाइ भने हुन सकेन ।

यसैबीच, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ पनि स्थगित भएको छ । प्राधिकरणका निवर्तमान प्रमुख हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा चढे पनि रिटकर्ताकै कानून व्यवसायीको माग बमोजिम सुनवाइ स्थगित गरिएको छ ।