काठमाडौं, भदौं २५ । निजी क्षेत्रको पहिलो नेपाली टेलिभिजन ईमेज च्यानलले आजदेखि औपचारिक रुपमा एचडी प्रविधिमार्फत प्रशारण यात्रा शुरु गरेको छ ।
ईमेज च्यानल स्टुडियोमा आयोजित विशेष समारोहमा ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आरके मानन्धरले एचडी प्रसारणको शुभारम्भ गर्नुभएको हो ।
एचडी प्रशारणको शुभारम्भ गर्दै अध्यक्ष मानन्धरले निजी क्षेत्रको पहिलो टेलिभिजन हुन सकेकोमा गर्व गर्दै नयाँ प्रविधि चुनौती र अवसर दुबै भएको बताउनुभयो । उहाँले नेपाली जनताको सुसूचित हुने अधिकार सुनिश्चित गर्न २५ वर्षको अनुभवलाई सँगाल्दै अझ परिष्कृत रुपमा आउने बताउनुभयो ।
अध्यक्ष मानन्धरले राजनीतिक दलहरुले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा फरक किसिमको व्यवहार देखाउने गरेको भन्दै प्रेस जगतलाई चौँथो अंग भन्नेमात्र होइन व्यवहारमा महशूस हुन दिन समेत आग्रह गर्नुभयो ।
त्यस्तै, इमेज ग्रुप अफ कम्पनिजका प्रमुख कार्यकारी अधिकृत डा. महेन्द्र विष्टले लोकतन्त्रमा मिडियाको भूमिका प्रभावकारी हुने र आफ्नो भूमिकामा इमेज च्यानल तलमाथि नहुने बताउनुभयो ।
इमेज च्यानलमा कमेडी क्याफे, डान्स मास्टर लिल चाम्स, उन्माद लगायतका रियारिलिटी शो तथा टेलिसिरियल शीघ्र प्रशारणमा आउने जानकारी पनि दिइयो ।
ईमेज च्यानल पहिलो पटक २०५३ साल माघ १ गते नेपाल टेलिभिजनको पर्दाबाट दर्शकमाझ पुगेको थियो । नेपालमा निजी टेलिभिजन प्रसारण अनुमति प्राप्त हुनु अघि नै निजी क्षेत्रको पहिलो प्रसारण संस्थाका रुपमा कार्यक्रम लिएर आएको ईमेज च्यानल दर्शकहरुको अपार माया र विश्वासका साथ क्रमशः विकास र विस्तार गर्दै निरन्तर अघि बढिरहेको छ ।
प्रसारणको ५ वर्षपछि २०५९ साल माघ १७ गतेदेखि ईमेज च्यानलले काठमाडौं उपत्यकाका दर्शकलाई लक्षित गरी टेरेष्ट्रियलमाध्यमबाट ईमेज मेट्रो च्यानल प्रसारण गरेको थियो । त्यसको ४ वर्षपछि लोकतन्त्रको विहानीसँगै २०६३ माघ ११ गतेदेखि इमेज च्यानलले स्याटेलाइटमार्फत आफ्नो प्रसारणलाई विश्वभर जोड्यो ।
ईमेज च्यानलका इमेज एफ एम ९७.९ र इमेज न्यूज एफएम १०३.६ दुई एफएम रेडियो तथा इमेजखबर डट कम अनलाइन न्यूज पोर्टल प्रशारणमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्