
काठमाडौं, पुस ४ । नेपाल प्रहरीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वि.सं. २०६७ जेठ ४ गते बेलुका अस्पतालबाट घर फर्कनेक्रममा अपहरण गरी १८ दिन बन्धक बनाउने कार्यमा संलग्न गौतम योञ्जनलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले डा. श्रेष्ठलाई बन्धक बनाउने समूहका एक सदस्य रहेका योञ्जनलाई महाराजगन्जबाट पक्राउ गरिएको जानकारी दिए ।
‘मानिस अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत हेटौंडाको वि.सं. २०७० माघ १३ गतेको फैसलाअनुसार योञ्जनलाई ९ वर्ष कैद र रु ५० हजार जरिवाना ठहर भएकाले फैसला कार्यान्वयनका लागि पक्राउ गरेका हौं’–उनले भने ।
डा. श्रेष्ठलाई बन्धक गरेर धादिङ, काठमाडौं, नुवाकोटलगायत जिल्लामा राखिएको अनुसन्धानमा खुलेको छ ।
पक्राउ परेका योञ्जनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्