कांग्रेसका कुरा « Image Khabar


कांग्रेसका कुरा


Border circle
Imagekhabar

सन्जिव कार्की

कांग्रेस चाहेर नचाहेर नेपाली राजनीतिको महत्त्वपूर्ण हिस्सा हो । जसको चर्चा, निन्दा, प्रशंसा या आलोचना नगरी आज पनि राजनीति कम्प्लिट हुँदैन । कुनै पनि राष्ट्रिय अन्तर्राष्ट्रिय इश्युमा कांग्रेस मुखर रूपमा देखिन भने त्यसले तार्किक निस्कर्ष निकाल्दैन राजनीति देखि जान्नेको यथार्थ भएकोले प्रमाण र पुष्टि आवश्यक पर्दैन । कांग्रेस स्थापना हुँदा देखि नेपालको प्रजातान्त्रिक आन्दोलनको एक्लो कन्माडर कांग्रेस रह्यो । ७० वर्ष भन्दा बढीको राजनीतिक इतिहासमा कांग्रेस राजनीतिको मियोमा नै रहेको जिकिरमा मत बझाउनेका लागि खुल्ला आमन्त्रण छ । देशमा राजनीतिक परिवर्तनका सबै महत्त्वपूर्ण घडीमा कांग्रेसले नेतृत्व दियो ।

कांग्रेस नेतृत्वको छ्हारीमा नै सबै पार्टी गोलबद्द भए र हर किसिमका परिवर्तन सम्भव भए भलै ती सबै हाम्रो धरातलीय यथार्थका हुन् या आयातित , लादिएका हुन या प्रभावित ? जे भएता पनि सबै आन्दोलन र आँधीको निर्णायक शक्ति कांग्रेस हो । अरु राजनीतिक पार्टीको आन्दोलनमा सहभागिता र सक्रियता रहे पनि निर्णायक र महत्त्वपूर्ण भूमिकाको लागि कांग्रेस र यसका नेताह?को खोजी भयो र त्यो ऐतिहासिक जिम्मेवारी कांग्रेसको भागमा पर्यो । व्यवस्था परिवर्तनमा जतिसुकै निर्णायक र आन्दोलनको कुशलता पूर्वक ल्यान्डडिङ गरे पनि सरकार सन्चालन र राजकीय व्यवस्थापन गर्न पटकपटक बारम्बार कांग्रेस चुकेको नमिठो यथार्थ छ । यद्यपि सरकार सन्चालन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा धेरै पटक र लामो समय कांग्रेसलाई नै प्राप्त भएको छ।

२०७४ सालको चुनावमा सर्मानक हार बेहोरेर बौरन नसकेको कांग्रेसलाई पून बामपंथी पार्टीले आफ्नो अक्षमता प्रदर्शन गर्दै सत्ता सन्चालन गर्न काँध थापिदिएका छन् । आफ्नो दुई तिहाइ नजिकको बहुमतलाई ढालेर पार्टी तीन टुक्रा पारेर बामपंथी नेकपा फुटेर कांग्रेसको भाग्य चम्किएको छ । आफ्नो घर डढाएर कांग्रेसको करेसाबारीको लागि खरानी हालीदिने बामपंथी भएको कारण मात्रै यो पटक कांग्रेसलाई सत्ताको सुख भोगको अवसर आएको हो । कांग्रेस आफ्नै बुताले सरकारमा पुगेको होइन । कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री छन् दुर्भाग्य कांग्रेस र देश भाग्यमानी बन्न सकिरहेको छैन । देउवाको शासन शैली र सत्ता सन्चालनमा सत्ता साझेदार पार्टीको ढिलासुस्तीले सरकार छिटो बदनाम र कांग्रेस झन कमजोर बन्दै गरेको देखिन्छ ।

ओलीको शैली र साशनले निराश जनता कांग्रेसका देउवाको रवैयाले थप निराश बन्ने र अगामी चुनावमा अपेक्षित लाभ कांग्रेसको पक्षमा नपर्ने खतरा बढदै गएको भान हुन्छ, जुन कांग्रेस जनको लागि घाटाको व्यापार झै प्रतीत हुँदैछ । यसैबेला कांग्रेसको अधिवेशनको माहोल छ । कांग्रेसका करिबकरिब नौ लाख कृयाशिल सदस्य एकैपटक देशमा सक्रिय छन् । गत शुक्रबार देखि देश कांग्रेसको स्थानीय तहको महाधिवेशनमा होमिएको छ । कतै अत्यन्तै उत्साहजनक परिणाम आएका छन भने कतिपय स्थानमा कांग्रेस महाधिवेशन पछि कांग्रेस त्याग्ने र कांग्रेसको कृया गरेँ भन्ने कांग्रेसहरु पनि केश मुण्डन गरेर १३ दिने जुठोमा बसेको खबर सुन्न र देख्न पाइन्छ । १९ वर्ष कि तरुणी स्वस्तिका महत देखि देखि ८० वर्षका पाका भिकारी कुँवर सम्म वडा तहको नेतृत्वमा आएका र युवाहरूको आकर्षण कांग्रेसमा देखिएको बिबिधतापूर्ण समाचार छन् ।

कांग्रेसको वडा देखि स्थानीय क्षेत्रीय हुदै जिल्ला र केन्द्र सम्म कांग्रेसका प्रतिनिधि आन्तरिक प्रतिस्पर्धा गरेर केन्द्रीय नेतृत्व छान्न करिब पाँच हजार प्रतिनिधि आउँछन् र केन्द्रीय नेतृत्वमा स्थापित हुने कसरत गर्छन् । महाधिवेशन प्रतिनिधिको रूपमा को को आए कसले कसरी जिते त्यो प्रमुख सवाल होइन । बुढा आए कि नयाँ आए त्यो सामान्य बहसको विषय हो उमेर समूह प्रधान कुरा होइन तर आजको कांग्रेस बीपी कोइरालाले प्रतिपादन गरेको निति र सिद्धान्तको परिमर्जित र परिस्कृत अझ उन्नत रुपको छ या छैन बन्छ या बन्दैन महत्वपूर्ण सवाल हो यो ।

बीपी कोइरालाले अबलम्बन गरेको नीति सिद्धान्त र हिँड्न खोजेको दार्शनिक धरातल कांग्रेसजन टेक्दै छन् या आफ्नो धरातलबाट बहकिएर कांग्रेस अन्तै गै सक्यो ? कोइराला भन्थे मान्छे असल बन्नुपर्छ ठूलो होइन । के कांग्रेस असल बन्ने मार्गमा छन् ? व्यवहार त कांग्रेस नेताकार्यकर्ता असल बन्न छोडेर ठूलो हुन तिर लागेका देखिन्छन् । के ठूलो हुन खोज्ने कांग्रेसले आजको प्रतिस्पर्धामा अरुलाई उछिनेर आफूलाई बीपीको सच्चा अनुयायी बनाउन सक्छन् त ? कसैको शिरमा कस्तो टोपी छ या छैन भन्ने कुराको अर्थ हुन्न । यथार्थमा संस्कृति भनेको मानवको व्यवहार हो । मानव निर्मित संस्कृति कस्तो हुनुपर्छ कांग्रेसले संस्कृतिद्वारा पेलिएको वर्ग समुदायसँग बसेर अन्तरक्रिया गरेको छ कहिल्यै ? उनको दुख र सामाजिक अप्ठ्यारो बारे सोधेको छ ? बीपी भन्थे म धर्मको विरुद्ध छैन तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दिन के यो स्वतन्त्रता र निष्ठा आजको र अब चुनिने कांग्रेस नेतृत्वमा हुनु र नहुनुले फरक पार्दैन ? कुनै कोणबाट बहस चलेको छ कांग्रेस भित्र ?

बीपी भन्थे म कुनै आर्थिक विशेषज्ञ होइन, तर जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडछ त्यो विकास होइन । आजका कांग्रेसमा यो चेतना र दृष्टिकोण आवश्यक छ या छैन ? देश भन्नू भुगोल मात्रै होइन , त्यो यथार्थमा जनता हो । जनताको इच्छा र आकंक्षा नै देशको आवाज हो ? माटोको यथार्थ जनआवाज हो । आज जनमत या जन आवाज , बहुसंख्यकको आवाज र अल्प संख्यकको आवाज र मर्यादा समेटने निति तर्जुमा गरेर देश सबैको साझा र बराबर हो भन्ने नैतिक दृष्टान्त दिने नेताले कांग्रेसको नेतृत्व गर्न पाएको र पाउने अवस्था छ ? कांग्रेसले सोच्ने र निर्णय गर्ने बेला आएको छ । हामीले आफ्नो सिद्धान्त त्यागेर कसैसँग पनि सम्झौता गर्नु हुँदैन भन्ने कोइरालाको अडान र निष्ठा बोक्ने काङ्ग्रेस कति छन् देशमा ?

कोइरालाको कथन थियो हामीले आफ्ना बिरोधिहरुलाई सिद्धान्तमा आधारित भएर हराउनु पर्छ वा पराजित गर्न सक्नुपर्छ । हाम्रो बिरोध कटुताहीन र सैद्धान्तिक हुनुपर्छ, व्यक्तिगत हुनुहुदैन । कांग्रेसले व्यक्तिगत दुश्मनी मोलेर राजा फ्यालेको हो कि सैद्धान्तिक धरातलमा टेकेर यसको चित्त बुझ्दो र तार्किक उत्तर पनि देशलाई दिनु र कार्यकर्तालाई बुझाउनु जरुरी छ । अन्यथा फेरि राजतन्त्रको दुन्दुभि कांग्रेसमा नचर्केला भन्न सकिन्न ? प्रजातान्त्रिक समाजवाद आजको लागि कस्तो र के हुनुपर्छ ? प्रजातान्त्रिक समाजवादमा शिक्षा र स्वास्थ्य व्यापार र निजि क्षेत्रको नाफाखोर व्यापार मात्रै किन बन्यो बनाइयो ? स्वास्थ्य र शिक्षाको चरम व्यापारीकरण रोकेर यसको आमूल परिवर्तन गर्न कुन नेताको कस्तो प्रतिबद्द्ता र सङ्कल्प आउँछ प्रतिनिधिले त्यो पक्कै खोज्ने छन् ।

जिउदो पार्टीमा आन्तरिक विवाद र शैलीगत भिन्नतामा विभिन्न समूह अर्थात गुट र उपगुट रहे र स्वीकार गरिए पनि पार्टीलाई क्षति पुर्याउने र पार्टी नै बिखण्डन गर्ने प्रवृतिको गतिविधि रोक्ने अनुशासनको घेरा कस्तो हुन्छ ? कम्युनिस्टहरुको झै मजबुत र दरो सांगठनिक संरचना नभएको पार्टी भएको हुँदा कांग्रेसलाई मासबेस्ड पार्टी भनिएको हो तसर्थ संरचनागत फितलो पनले विवादको सानो झोक्का पनि पचाउन र सहन मुस्किल हुन्छ भन्ने कुरा हेक्का नराखी सुख छैन । के यस्तो कांग्रेस बन्ला ?

१४ औं महाधिवेशनमा कांग्रेस नेतृत्व आगामी चुनाव आफ्नो पक्षमा पार्ने नेतृत्व आउँछ कि ? यथास्थितिमा रहने र जहिल्यै आफ्नो रवैयामा परिवर्तन नगर्ने नेतृत्व ? आफ्नो प्रजातान्त्रिक समाजावादी सैद्धान्तिक धरातल मजबुत बनाउने र अधिकतम जनताको पक्षमा काम गर्ने कि अरु सैद्धान्तिक क्षय बेहोर्ने ? प्रजातान्त्रिक मुल्यको स्खलन गर्दै आएको कांग्रेसले आफ्नो साख चुनाव जितेर हारेर होइन सैद्धान्तिक निष्ठा सदा कायम गरेर व्यबहारत पुष्ठि गरेर बचाउने हो । राजनीतिमा चुनाव हार्नु र जित्नु सामान्य प्रक्रिया हुन तर सिद्धान्त, निष्ठा ,नैतिक आचरण र सामाजिक वैज्ञानिक मुल्यमा गिरावट ल्याउनु चै सदा हार्नु हो ।

प्रतिक्रिया दिनुहोस्