नेपालसँग कुनै सीमा विवाद छैन, केही व्यक्तिले उछाल्ने काम गरे–चिनियाँ दूतावास « Image Khabar


नेपालसँग कुनै सीमा विवाद छैन, केही व्यक्तिले उछाल्ने काम गरे–चिनियाँ दूतावास


Border circle
Imagekhabar

काठमाडौं । नेपालसँग सीमा क्षेत्रमा कुनै विवाद नभएको चीनले प्रष्ट गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले विज्ञप्ति निकाली नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको जनाएको हो ।

चिनियाँ दूतावासले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सन् १९६० को दशकको शुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भैसकेको छ । त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’

शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा रहेर सीमाका मुद्दा लगायत दुई मुलुकबीचको साझेदारी थप बलियो तुल्याउन चीनले चाहेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले, केही व्यक्तिले यसअघि पनि नेपाल र चीनबीच कथित सीमा विवाद निम्त्याउने प्रयास गरेको भन्दै यसबारे परराष्ट्र मन्त्रालयले त्यतिबेला जारी गरेको प्रष्टीकरण बुझ्न पनि भनेको छ ।

दुई मुलुकबीचको विकास तथा सहायताका लागि नेपालसँग मिलेर हिमालय सीमापार बहुआयामिक सम्पर्क संजाल निर्माण गर्न चाहेको भन्दै चीनले हुम्लासँग सीमा जोडिएको तिब्बतको सिजाङबाट नेपालतर्फ भूकम्प, बाढीपहिरो र महामारीजस्ता विपद्मा मानवीय सहायता प्रदान गरिराखिएको पनि उल्लेख गरेको छ ।

हुम्लाको सीमावर्ती नेपाल–चीन–तिब्बत क्षेत्रको केही जमीन कब्जा गरेर चीनले आफ्नो भौतिक संरचनासमेत बनाएको भन्दै यसअघि विवादमा आएको थियो । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले उक्त क्षेत्रमा भ्रमण गरेरै प्रतिवेदनसमेत बुझाएका थिए ।

यसै विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारले हालै एक समितिसमेत बनाएको छ । सरकारले समिति नै बनाएपछि चीनले पनि काठमाडौंस्थित दूतावासमार्फत् प्रतिक्रिया दिएको हो ।

प्रतिक्रिया दिनुहोस्