२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


युवती र किशोरीलाई बन्धक बनाएर देहव्यापार


26
Shares

चितवन, पुष १ । भरतपुर महानगरपालिकाभित्रै बन्धक बनाएर एक युवती र एक किशोरीलाई देहव्यापारमा सङ्लग्न गराएको खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिकसमेत गरेको छ । फिल्मी शैलीमा होटलमा लुकाएर उनीहरुलाई देहव्यापारमा लगाएको पाइएको छ ।

वडा नं २९ मा रहेको होटल खोटाङ हलेसी एण्ड सगरमाथा गेष्टहाउसका सञ्चालकले काठमाडौँबाट हराएका एक युवती र एक किशोरीलाई देहव्यापारमा लगाएको प्रहरीले जनाएको छ ।

गत कात्तिक २७ गते काठमाडौँबाट हराएका एक युवती र किशोरीलाई त्यहाँ ल्याएर देहव्यापारमा लगाइएको हो ।

काठमाडौँमा कोठा भाडा गरी बस्ने २२ वर्षीया युवती र १४ वर्षीया किशोरीलाई काठमाडौँबाट चितवनसम्म ल्याउने काम धरानकी युवतीले गरेको खुलेको छ ।

ती दुईलाई एउटा बन्द कोठामा राखेर देहव्यापार गराइएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उनीहरुले घरमा सन्देश पठाएपछि प्रहरीले सो होटलमा छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पटक–पटक होटलमा खानतलासी गर्दासमेत उनीहरुलाई फेला पार्न सकिएको थिएन ।

प्रहरीको निगरानीपछि उनीहरुलाई मुग्लिनतर्फ लैजाने क्रममा पक्राउ गरिएको मल्लले जानकारी दिए । उनीहरुले पक्राउपछि सोही होटलमा देहव्यापारमा लगाएको जनाएका थिए ।

त्यसपछि उनीहरुसहित प्रहरी होटल पुगेर हेर्दा अन्धकार कोठामा राखेर देहव्यापारमा लगाइएको पाइएको मल्लले बताए ।

प्रहरीले होटलका सञ्चालक ५० वर्षीय जङ्गबहादुर क्षेत्री, उनकी श्रीमती ३९ वर्षीया निर्मला थापा र धरान उपमहानगरपालिकाकी २४ वर्षीया  रेसिका राईलाई पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनालाई मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा अनुसन्धानका लागि सरकारी वकिल कार्यालयमार्फत पाँच दिनको समय थप गरी अनुसन्धान शुरु गरिएको छ । रासस