
काठमाडौं, मंसिर ३० । सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबल सुरु भएसँगै क्लबलाई प्रायोजन गर्नेक्रम बढेको छ ।
सोमबारमात्रै दुई क्लबले प्रायोजक पाएका छन् ।
थ्रीस्टार क्लबलाई खेल पोसाक कम्पनी एडिडासले प्रायोजन गरेको छ । थ्रीस्टारले एडिडासको नेपालको अधिकारिक बिक्रेता रुड्स फेसनसित सहप्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
क्लबका अध्यक्ष अरुणमान जोशी र रुड्सका प्रबन्ध निर्देशक सन्जीव तुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै एडिडासले थ्रीस्टारलाई २५ लाख रुपैयाँ बराबरको खेल सामग्री उपलब्ध गराउनेछ ।
थ्रीस्टारको मुख्य प्रायोजकको रुपमा रुस्लान रहेको छ ।
थ्रीस्टारले क्लबको आधिकारिक खेल पोसाकको रुपमा एडिडाससित सहप्रायोजकको सहकार्य गरेको हो ।
हिमालयन शेर्पालाई यतीको साथ
त्यस्तै, अर्को ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई यती एअरलाइन्सले मुख्य प्रायोजन गरेको छ ।
हिमालयनले सोमबार यतीसित २० लाख रुपैयाँ बराबरको मुख्य प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो ।
हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पा र यतीका निर्देशक समर राणाबीच एक वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
यतीले हिमालयनलाई तेस्रो वर्ष प्रायोजन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्