माओवादी केन्द्रलाई देशको सबैभन्दा ठूलो दल बनाउने वाईसीएलको प्रतिवद्धता « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Wed Aug 10 2022


माओवादी केन्द्रलाई देशको सबैभन्दा ठूलो दल बनाउने वाईसीएलको प्रतिवद्धता


0
Shares

काठमाडौं । वाईसीएल, नेपालका नेता तथा कार्यकर्ताले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र)लाई सबैभन्दा ठूलो दल बनाउने प्रतिवद्धता जनाएका छन् ।

काठमाडौंमा जारी राष्ट्रिय भेलामा सहभागी भएका उनीहरूले युवाहरूलाई परिचालन गरेर आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गराउने प्रतिक्रिया दिएका हुन् । सोही काममा नेतृत्व दिन सक्ने व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउनुपर्ने वाईसीयलका नेता तथा कार्यकर्ताको पार्टी नेतृत्वसँग माग छ ।

आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने गरी युवाहरूलाई परिचालन गरेर अघि बढ्ने योजनासहित आफूहरू परिचालित हुने वाईसीएल नेपाल भक्तपुरका संयोजक नरेश वाईबाले बताउनुभयो । उहाँले त्यसका लागि देशभरका युवाहरूलाई परिचालन गरेर जनतामाझ जान सक्ने नेतृत्वको आवश्यकता रहेको औंल्याउनुभयो ।

सिन्धुपाल्चोकका वाईसीएल संयोजक रुपेन्द्र आचार्यले आगामी निर्वाचनमा देशको पहिलो राजनीतिक पार्टी माओवादी केन्द्रलाई बनाउने गरी आफ्नो संगठनलाई सशक्त बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले त्यसका लागि वाईसीएल नेपालले मुलुकभर राजनीतिक पहुँच वृद्धि गरेर अघि बढनुपर्ने भएकाले सोही अनुसारको नेतृत्व बनाउनुपर्नेमा जोड दिनुभयो ।

उता, मकवानपुरकी जिल्ला संयोजक अनु लामाले युवाहरूलाई सक्षम र दक्ष बनाएर माओवादी केन्द्रलाई मुलुकको पहिलो पार्टी बनाउन वाईसीएल नेपालले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उहाँले युवाहरूको परिचालन गरेर मात्रै माओवादी केन्द्रलाई सबल पार्टी बनाउन सकिने तर्क पनि गर्नुभयो ।

वाईसीएल नेपालले जारी राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय कार्य समिति र अध्यक्षसहित ३५ जना पदाधिकारी चयन गर्नेछ । मूल नेतृत्व सहमतिमै चयन गर्न पार्टी नेतृत्वले प्रयास गरिरहेको पनि वाईसीएल, नेपालले जनाएको छ ।