निम्न काेटीका क्षुद्र टिप्पणी गर्दै कम्युनिष्ट नेतृत्व « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


निम्न काेटीका क्षुद्र टिप्पणी गर्दै कम्युनिष्ट नेतृत्व

कुलकै बेइज्जत गर्न कम्युनिष्ट नेताको प्रतिस्पर्धा, आफ्नै नेतालाई गद्दार प्रमाणित गर्न कुतर्कको भारी

0
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । जेलनेल मात्र हैन दशकौं एउटै भाँडाका भात खाएका नेताहरूको सम्बन्ध पानी बाराबारको अवस्थामा पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विभाजित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच अबका दिन कस्तो सम्बन्ध रहला भन्ने आमजिज्ञासा रहेका बेला नेताहरूले एक अर्काप्रति गरेको क्षुद्र टिप्पणी निम्न कोटीका छन् ।

नेकपा एमाले विभाजित भएको दोष न एमालेले लिन चाहान्छ न एकीकृत समाजवादी पार्टीले नै । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको प्रतिशोधपूर्ण आगोले सिंगो पार्टीलाई विभाजित गरेपछि त्यसको बाछिटा तल्लो तहसम्म पुग्ने देखिएको छ ।

एमालेले मार्क्सवादीको मूल्य मान्यतालाई तिलाञ्जली दिएको एक पक्षको आरोप छ भने अर्को पक्ष भन्छ– नेता नेपालकै कारण कम्युनिष्ट आन्दोलनको जग खरानी भयो । आफ्नो समूहमा रहेका दोस्रो तहका नेता उचालेर अध्यक्ष ओलीले आफूहरूलाई कमजोर बनाउन खोजेको आक्षेप नेपालको छ ।

ओलीपक्ष भने कांग्रेस र माओवादीसँग सौदावाजी गरेर एमालेको शक्तिशाली सरकार ढाल्ने यदुवंशी खेल नेपाल पक्षले गरेको भन्दै त्यसको हिसावकिताव गर्ने पक्षमा देखिन्छ । एमाले प्रवक्ता प्रदीप ज्ञवाली कम्युनिष्टको खोल ओढेर कांग्रेसको पाउमा पर्ने अवसरवादीको आलोचना र विरोध गर्नुको विकल्प नरहेको जिकीर गर्नुहुन्छ ।

पार्टी विधि, विधान र पद्धतिअनुसार नचलेको, जनताको बहुदलीय जनवादको सिद्धान्तलाई समाप्त पार्न खोजेको भन्ने नेपाल नेतृत्व पार्टीको आक्षेप सुन्न एमाले नेतृत्व तयार छैन । अर्कातिर एमालेको वर्तमान नेतृत्वकै कारण आफूहरू नयाँ दल खोल्न बाध्य भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ छ ।

मन नमिलेपछि आफ्नै कुलको बेइज्जतमा हात धोएर लाग्ने गरेको भनेर नेपालका कम्युनिष्टहरू उनीहरूकै समुदायमा आलोचित छन् । आफ्नै नेतालाई गद्दार प्रमाणित गर्न तर्क–कुतर्कको सहारा लिने चरित्र अब नयाँ पुस्ताले पचाउँदैन । त्यसैले दुवै पक्षको नेतृत्वले संयमित र हार्दिक व्यवहार प्रोत्साहित गर्ने वातावरण बनाउन बाञ्छनीय छ ।