Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानान्तरण गर्ने योजना अलपत्र


0
Shares

-सुजित भण्डारी/ईमेज

नुवाकोट । काठमाडौँको जैसीदेवलस्थित केन्द्रीय कारागारलाई नुवाकोट स्थानान्तरण गर्ने योजनामा ढिलाइ भएको छ ।

प्राविधिक डिजाइन तथा बिल भुक्तानीमा ढिलाइ भएको भन्दै योजनाअनुसार काम अगाडि बढ्न नसकेको हो ।

काठमाडौँको जैसीदेवलस्थित राणाकालीन केन्द्रीय कारागार जीर्ण र अव्यवस्थित भएकाले सरकारले २०७० साल चैत्रमा नुवाकोट सार्ने निर्णय गरेको थियो ।

जसअन्तर्गत पहिलो चरणमा  १७ सय कैदीबन्दी स्थानान्तरण गर्ने सरकारी योजना थियो ।

त्यसका लागि नुवाकोटको विदुर नगरपालिकाको चण्डीपोखरीस्थित पाँच सय ३४ रोपनी क्षेत्रफलको खुल्ला मैदानमा केन्द्रीय कारागार निर्माणको कार्य थालनी भइसकेको छ । ३६ महिने निर्माण अवधिसहित २०७३ असोजबाट निर्माण कार्य थालनी गरिएको हो ।

२०७६ कात्तिकमा १७ सय कैदीबन्दी स्थानान्तरण गर्ने तयारी भए पनि कारागारको प्रशासनिक भवनको डिजाइनलगायत भौगर्भिक समस्याका कारण योजना पर धकेलिएको सहरी विकास तथा भवन निर्माण शाखाका प्रमुख सुवास बस्नेत बताउँछन् ।

तीन चरणमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माणाधीन ८ हजार पाँच सय कैदी क्षमताको कारागार निर्माणको पहिलो चरणअन्तर्गत १७ सय थुनुवाका लागि बन्दी गृहलगायत प्रशासनीक भवन तथा सशस्त्र र जनपथ प्रहरीका सुरक्षा पोष्ट गरी ३२ वटा भवन निर्माण भइरहेका छन् ।

लामारमण जेभीद्वारा निर्माणाधीन कारागारको प्राविधिक डिजाइन तथा परामर्श र बिल भुक्तानीमा ढिलाइ हुँदा कार्यतालिका बमोजिम निर्माणमा कठिनाइ भएको कम्पनीका लेखापाल रोहण बरालको भनाइ छ ।

बन्दीगृह निर्माण गर्दा बन्दीहरुको वृत्तिविकास तथा रोजगारलगायतका अधिकारलाई समेत ध्यानमा राखी वृहत गुरुयोजनासहित सुविधासम्पन्न गराइने तयारी छ ।

जसलाई उमेर समूह र लैंगिकमैत्री बनाउन लागिएको हो । थुनुवा बन्दीलाई कैद भुक्तानपछि स्वस्थ जीवन एवं वृत्तिविकास र समाजमा पुनस्र्थापनामा सघाउन हुने गुरुयोजनाका कारण काममा ढिलाइ भइरहेको जनाइएको छ ।