‘फाेहाेरको राजनीति, बहाना अनेकथरी’ « Image Khabar


‘फाेहाेरको राजनीति, बहाना अनेकथरी’

ढुकुटी बलियो बनाउन जात्रा निकाल्दै महानगर, फोहोर व्यवस्थापनमा छैन चासो

0
Shares

गृष्मा राजभण्डारी
काठमाडौं । पञ्चेबाजा बजाएर कर तिर्न आव्हान गरिरहेको काठमाडौं महानगरपालिकाले शहरको फोहोर व्यवस्थापनमा आँखा चिम्लदा महामारीको त्रासले नगरबासी हैरान छन् । पटक–पटक हुने फोहोरको राजनीतिले शहर दुर्गन्धित छ । कहिलेबाट सहज रुपमा फोहोर व्यवस्थापन हुन्छ भन्ने स्पष्ट उत्तर कसैसँग छैन ।

महानगरपालिका अहिले जात्राको झल्को दिने गरी पन्जेबाजा बजाएर कर उठाउन लागिपरेको छ । ढुकुटी बलियो बनाउन कर तिर्न दवाव दिने महानगर हप्तौंदेखि फोहोर नउठाएर जनताको स्वास्थ्यसँग खेलबाड गरिरहेको छ । कर उठाउन जात्रा निकाल्न सक्ने महनगरले फोहोर व्यवस्थापनमा भने चासो दिइएको पाइँदैन ।

कुनै न कुनै कारण देखाएर फोहोरको डंगुर बाटाबाटामा देखिनु नौलो दृश्य होइन । कोभिडको महामारी, त्यसमाथि झरीको मौसममा घर, बाटो र सार्वजनिक स्थानमा फोहोरको पहाड थुप्रिँदा काठमाडौंबासीको दैनिकी प्रभावित बनेको छ ।

झरीको समयमा थु्प्रिएको फोहोरको सम्बन्ध पानीको श्रोतसँग हुने भएकाले संक्रमणको खतरा रहेको चेतावनी स्वास्थ्यविद्हरूले दिने गरेका छन् । यद्यपि महानगरपालिकाका वातावरणविज्ञ हरिकुमार श्रेष्ठ, नुवाकोटको बन्चरेडाँडामा फोहोर व्यवस्थापनको दीगो समाधान खोजिए पनि कोभिडका कारण काम गर्न नसकेको बताउनुहुन्छ ।

महानगरकाअनुसार ल्याण्डफिल्ड साइटमा बाटो बिग्रेकै कारण दैनिक १ सय ५० देखि १ सय ७५ वटा गाडी सहित १२ सय टन फोहोर व्यवस्थापन हुने गरेकोमा अहिले ५० वटा गाडीले जेनतेन धान्ने गरेको छ । नगरबासीलाई घरमै फोहोर व्यवस्थापन गर्न महानगरले आग्रह गरेको छ । तर, नगरबासीसँग न फोहोर व्यवस्थापन गर्ने सीप छ, न ज्ञान नै ।

दशकौंदेखि काठमाडौं महानगरको केन्द्रीय राजनीतिको स्रोत नै फोहोर बन्दै आएको छ । अहिले थुप्रिएको फोहोर असामान्य अवस्थाको फोहोर हो । कोभिड महामारीले गाँजेका बेला थुप्रिएको फोहोर राजनीतिले कसैको भलो गर्दैन । फोहोर व्यवस्थापनसँगै स्यानिटाइजको उचित प्रबन्ध नगर्ने हो भने फोहोर आत्मघाती सावित हुने निश्चित छ ।