Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्न आवश्यक: परराष्ट्रमन्त्री खनाल


13
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले यसको प्रभावकारी सम्बोधनका लागि दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्ने बताउनुभएकाे छ।

परराष्ट्र मन्त्रालयद्वारा बुधबार आयोजित दोस्रो संस्करणको ‘मोफा नलेज’ फोरममा ‘जलवायु कूटनीति’ विषयमा सम्बोधन गर्दै मन्त्री खनालले यस्ताे बताउनुभएकाे हाे। जलवायु परिवर्तनको विषय बहुपक्षीय भए पनि त्यसका लागि दीर्घकालीन संस्थागत संरचना आवश्यक रहेको बताउनुभयाे।

मन्त्री खनालले सही संस्थाहरूको निर्माण गरी बहुपक्षीय संस्थाहरूसँग समन्वय गर्न सकेमा मात्रै जलवायु परिवर्तनका विषयमा प्रभावकारी उपलब्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभएकाे छ। उहाँले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप) मा विषयहरू आउने–जाने भए पनि नेपाललाई आवश्यक संस्थागत संरचनाबारे अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा प्रस्तुत हुनुपर्नेमा जाेड दिनुभयाे।

छलफलमा जलवायु परिवर्तनका विभिन्न क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा काम गरिसकेका तथा गरिरहेका विज्ञहरूसँग सुझाव तथा परामर्श लिइएको थियो। कार्यक्रममा सहभागीहरूलाई आफ्ना सल्लाह तथा सुझाव दिन आग्रह गरिएको थियो। कार्यक्रममा संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिता तथा त्यहाँ नेपालले जलवायु परिवर्तनका विषयमा गर्नुपर्ने प्रस्तुतीकरणकाे बारेमा पनि छलफल भएको छ।