४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


पत्रकार कुट्ने ६ जनाविरुद्ध मुद्दा


0
Shares

सुनसरी, मंसिर २७ । सुनसरीमा पत्रकारमाथि कुटपिट गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष एवं ‘न्यूज २४’ टीभीमा कार्यरत् पत्रकार सन्तोष काफ्लेमाथि कुटपिट गर्नेहरुविरुद्ध मुद्दा चलाइएको हो ।

बुधबार समाचार संकलन गर्न ढिलो आएको भन्दै सल्लेरी बचत तथा ऋण सहकारी संस्थाबाट पीडित भएका बचतकर्ताहरुले काफ्लेलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न धरान उपमहानगरपालिका–३ का नरेश शाही, धरान–१५ का तुलसीप्रसाद विक, धरान–४ का दीपक राई र संगीता राईलाई पक्राउ गरिएको छ । आरोपी अरु दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विराटनगर आँखा अस्पताल भर्ना

कुटपिटबाट घाइते भएका पत्रकार काफ्लेको देब्रे आँखा, नाक र छातीमा चोट लागेको छ । उनको आँखाको नली काटिएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर आँखा अस्पताल भर्ना गरिएको छ ।

पत्रकार काफ्लेमाथि आक्रमण गर्ने ६ जनाविरुद्ध शुक्रबार शरीर अंगभंग ऐनअन्र्तगत् मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

किटानी जाहेरी

शुक्रबारै पत्रकार काफ्लेले आफूमाथि आक्रमण गर्ने ६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएका छन् ।

विरोध

काफ्लेमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ सुनसरीले विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको छ ।

महासंघका सचिव हिमाल दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आक्रमणकारीलाई कडा कारबाही र पत्रकारहरुलाई शान्तिपूर्वक काम गर्ने वातावरण मिलाउन सरकारसित माग गरिएको छ ।