एजेन्सी । कोरोना भाइरसविरुद्धको फाइजर खोप पूर्ण स्वीकृति पाउने पहिलो खोप बनेको छ ।
अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई पूर्ण स्वीकृति प्रदान गरेको हो ।
यसअघि आपतकालीन प्रयोगको अनुमति पाएको सो खोप एफडिएको पूर्ण स्वीकृति पाउने फाइजर खोप पहिलो हो ।
एफडिएले पूर्ण स्वीकृति प्रदान गरे पनि विश्व स्वास्थ्य संगठनबाट भने अहिले नै त्यस्तो स्वीकृति पाएको छैन ।
फाइजरले त्यसका लागि पनि प्रक्रिया अघि बढाइने जनाएको छ । फाइजरको खोप तीन हप्ताको अन्तरमा दुई मात्रा लगाउनुपर्ने चिकित्सकहरुले बताएका छन् ।
एफडिएले १६ वर्ष र सो भन्दा माथिको उमेरका लागि पूर्ण स्वीकृति प्रदान गरेको हो । झण्डै ४४ हजार मानिसमा गरेको अध्ययनको नतिजापछि खोपलाई पूर्ण स्वीकृति प्रदान गरिएको एफडिएले जनाएको छ ।
यो खोप कोरोना भाइरसको संक्रमण रोक्नमा ९१ प्रतिशत प्रभावकारी देखिएको बीबीसीले जनाएको छ । यो खोप १२ देखि १५ वर्ष उमेर समूहका लागि भने अझै पनि आपतकालीन प्रयोग अनुमति मात्रै रहेको एफडिएले जनाएको छ ।
एफडिएको पूर्ण अनुमतिसँगै अमेरिकी आर्मीले आफ्ना सबै सक्रिय सैनिकहरुले अनिवार्य रुपमा खोप लगाउनु पर्ने बताएको छ । अमेरिकामा अहिले निःशुल्क खोप लगाउने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्