नेकपा (एकीकृत समाजवादी)को विधानः पदाधिकारी १७, केन्द्रीय सदस्य १५१ जना रहने « Imagekhabar – Online News Portal of Nepal


नेकपा (एकीकृत समाजवादी)को विधानः पदाधिकारी १७, केन्द्रीय सदस्य १५१ जना रहने

जनताको बहुदलीय जनवाद होइन वैज्ञानिक जनवाद पार्टीको रणनीतिक लक्ष्य

0
Shares

cpn united socialist

काठमाडौं, भदौं ८ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो अन्तरिम विधान पारित गरेको छ ।

नेकपा एमालेबाट विभाजित भई दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको उक्त पार्टीको चन्द्रागिरी हिल्समा बसेको बैठकले अन्तरिम विधान र घोषणापत्र अनुमोदन गरेको हो ।

पार्टीको छोटकरी नाम नेकपा (एस) राख्ने उल्लेख गरिएको विधानमा मार्क्सवाद-लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्त मानिएको छ ।

यसअघि एमालेले मान्दै आएको जनताको बहुदलीय जनवादलाई त्याग्दै पार्टीले अबदेखि रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादलाई बनाउने उल्लेख गरेको छ । एमालेका अध्यक्ष केपी ओलीसँग चरम मतभेद भएपछि उक्त पार्टीका वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।

पदाधिकारी र केन्द्रीय समितिको संरचना एमालेको भन्दा फरक बनाएको नेकपा एसले पार्टीमा अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिव सहित १७ जना पदाधिकारी राख्ने जनाएको छ ।

केन्द्रीय कमिटी भने ११५ पूर्ण र ३६ वैकल्पिक सहित १५१ सदस्यीय केन्द्रीय हुने उल्लेख छ । महाधिवेशन नहुँदासम्मका लागि १५१ सदस्यीय केन्द्रीय समिति भने राष्ट्रिय परिषदले चुन्ने छ । जसमा ५१ सदस्यीय पोलिटब्यूरो र २१ सदस्यीय स्थायी समिति रहने छन् ।

प्रदेश, जिल्ला र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने व्यवस्था गरिएको छ । हरेक ५ वर्षमा महाधिवेशन गरिने र त्यसले राष्ट्रिय परिषद्का सदस्यहरु चुन्ने उल्लेख छ ।

राष्ट्रिय परिषद्का सदस्यले नै केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका सदस्य र पदाधिकारीहरु चुन्नेछ । अर्थात पार्टीको अध्यक्ष र पदाधिकारी पनि महाधिवेशनबाट प्रत्यक्ष नभई राष्ट्रिय परिषद्बाट चुनिने छ ।