
प्रज्ञा तिमल्सिना र सहदीप केसी (इमेज)
काठमाडौं, मंसिर २५ । गएको आइतबार बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट घाइते भएकी १२ वर्षीया प्रकृति चन्दको ललितपुरको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका कारण दुवै खुट्टा गुमाएकी प्रकृतिको स्वास्थ्यमा भने केही सुधार आएको छ ।
छोरीको भविष्य कसरी अगाडि बढ्छ ? कसरी बाँच्न सक्छे होला ? भन्ने चिन्ताले आमा भगवती चन्दलाई निकै सताउने गरेको छ ।
गत आइतबार विद्यालय जानेक्रममा ट्रकको ठक्करले दुवै खुट्टा गुमाएकी १२ वर्षीया छोरी प्रकृति चन्दको अवस्था देख्दा भगवती आफूलाई सम्हाल्न सकेकी छैनन् ।
आइतबार नै बीएन्डबी अस्पताल भर्ना गरिएकी छोरीलाई कुर्दै भगवतीको दिन कट्ने गरेको छ ।
आइतबार खाना खुवाएर श्रीमान्सँग विद्यालय पठाएकी छोरी केही समयमै दुर्घटनामा परेर एउटा खुट्टा नै गुमेको अवस्थामा देख्दा भगवती छाँगाबाट खसेझैं भएकी थिइन् ।
छोरीको त्यो अवस्था हेर्नै नसकेकी भगवतीले मन दह्रो बनाउँदै उपचारका लागि काठमाडौं लिएर आइन् ।
तीन छोरी, एक छोरा र श्रीमान्सहित कोहलपुरमा पसल गरेर जीवन चलाइरहेकी भगवती अब छोरीको भविष्य के होला ? भन्नेमा निकै चिन्तित छन् ।
दुर्घटनामा दुवै खुट्टा गुमाएकी प्रकृतिलाई आफ्नो अवस्थाबारे भने कुनै पत्तो छैन । आफूलाई ट्रकले हानेको मात्र प्रकृतिलाई थाहा छ ।
तेक्वान्दो खेलमा रुचि भएकी प्रकृतिलाई दुवै खुट्टा छैनन् भन्ने कुरा कसरी सुनाउने ? भन्नेमा आमालाई निकै गाह्रोसमेत भएको छ ।
प्रकृतिले ‘ममी, मलाई बाक्लो जुत्ता किनिदिनू है’ भन्दा आफ्नो मुटु नै फुट्लाजस्तो हुने गरेको भन्दै भावुक बनिन्, भगवनी ।
भेट्न आउने सबैलाई मेरो स्कुल झोला कता होला ? पढाइ कहाँ पुगिसक्यो ? परीक्षा आउनेबेला भइसक्यो ? जस्ता प्रश्न प्रकृतिले सोध्ने गरेकी छन् । जसको जवाफ कसैसँग छैन ।
बीएन्डबी अस्पतालमा डा. विवेक बास्कोटाको टिमले प्रकृतिको उपचार गरिरहेको छ ।
घाइतेमध्ये १० जना टिचिङमा
प्रकृतिलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको थियो भने प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गर्नुका साथै गोली प्रहारसमेत गरेको थियो ।
प्रहरीको गोलीबाट घाइते भएकामध्ये १० जनाको हाल टिचिङ अस्पतालमा उपचार भइरहेको छ । तीमध्येका एक हुन्, १८ वर्षीय दीपेन्द्र शाह ।
आन्दोलन चर्किएपश्चात् सहभागी हुन पुगेका दीपेन्द्रलाई प्रहरीले चलाएको गोलीको छर्रा लागेर घाइते भएका थिए ।
टिचिङ अस्पतालमा उपचार गराइरहेका दीपेन्द्रको घाँटीमा गोलीको छर्रा लागेको छ । शल्यक्रियाबाट एउटा गोली निकालिएको छ भने एउटा शल्यक्रिया गर्न बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस्