
भक्तपुर, साउन १५ । भक्तपुर नगरपालिका वडा नम्बर–८, ल्योसिंखेल, चुपिनघाटस्थित कहाँल्चामा मोटरसाइकलमा आएका दुईजनाले चक्कु देखाएर रु ६ लाख लुटेका छन् ।
चाँगुनारायण नगरपालिका वडा नम्बर–६, नगरकोटफेदी बस्ने वर्ष ५४ का परशुराम बजगाइँले घरबाट ल्याएको रु चार लाख र कमलविनायकस्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको रु दुई लाख गरी रु ६ लाख लिएर सूर्यविनायकतर्फ जाँदैगर्दा लुटेराले मंगलबार बिहान ११ः२५ बजे लुटपाट गरेका हुन् ।
सवा ११ बजे बैंकबाट पैसा झिकेर झोलामा हालेर हिँडेरै सूर्यविनायकतर्फ जाँदैगर्दा एकान्तमा पारेर मोटरसाइकलमा माक्स लगाएर आएका दुई व्यक्तिले चक्कु देखाएर झोला लुटेर फरार भएको पीडित बजगाइँले बताए ।
निर्माण व्यवसायीसमेत रहेका बजगाइँले भने–‘पैसा लिएर सूर्यविनायकमा निर्माण मजदुरहरुलाई मासिक ज्याला दिन जाँदै थिएँ । मोटरसाइकलमा आएका व्यक्तिले चक्कू झिकेर कराइस् भने मारिदिन्छु भनेर पैसाको झोला खोसेर लगे । मेरो होसहवास नै उड्यो ।’
घटना भएलगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरलाई घटनाबारे जानकारी गराएको बताउँदै पीडितका भाइ सोम शर्मा (बजगाइँ)ले घटनाको तत्काल अनुसन्धान गरी लुटेरा पक्राउ गरी कारबाही गर्न र लुटिएको रकम फिर्ता गराउन माग गरे ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले घटनाको जानकारी आएलगत्तै चारैतर्फ कडाइका साथ जाँचसहित लुटेराको खोजी भइरहेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्