४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


गौरिका बनिन् ‘साग’को इतिहासमै सर्वाधिक सफल नेपाली खेलाडी


0
Shares

काठमाडौं, मंसिर २३ । नेपालकी १६ वर्षीया ‘जलपरी’ गौरिका सिंह ‘साग’को इतिहासमै सर्वाधिक सफल नेपाली खेलाडी बनेकी छन् ।

दक्षिण एसियाली खेलकुद (साग)को एकै संस्करणमा चारओटा स्वर्णपदक जित्दै उनी सर्वाधिक सफल खेलाडी बनेकी हुन् ।

गौरिकाले पौडीको अन्तिम दिन सोमबार १०० मिटर ‘फ्रिस्टाइल’मा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक प्राप्त गरिन् । उनले निर्धारित् दूरी ५८.१३ सेकेन्डमा पूरा गरेकी थिइन् ।

त्यसअघि, गौरिकाले २०० मिटर ‘ब्याकस्ट्रोक’, २०० मिटर फ्रिस्टाइल र ४०० मिटर फ्रिस्टाइलमा स्वर्णपदक जितेकी थिइन् ।

गौरिकाले दुई रजत र तीन कास्यपदकसहित १३औं सागमा कुल ९ ओटा पदक जितिन् ।

अहिलेसम्म कुनैपनि नेपाली खेलाडीले एकै संस्करणमा यतिधेरै पदक जितेका थिएनन् ।

सागको इतिहासमा तेक्वान्दो खेलाडी दीपक विष्टको नाममा चार संस्करणमा चारओटा स्वर्णको कीर्तिमान रहँदै आएकामा गौरिकाले एकै संस्करणमा चार स्वर्णपदक हासिल गरेकी हुन् ।

त्यस्तै, म्याराथनमा वैकुण्ठ मानन्धरले लगातार तीन संस्करणमा स्वर्णपदक जितेका थिए ।

१३औं सागमा पौडीमा १२ वर्षीया दुअना लामाले दुईओटा रजतपदक जितेकी छन् भने एलेक्स शाह र टिशा शाक्यले कास्यपदक जितेका छन् ।

गौरिकासहितको टोलीले दुई कास्य रिलेमा पाएको हो । अन्तिम प्रतिस्पर्धाका रुपमा भएको ‘मिड्ले रिले’मा गौरिका सम्मिलित नेपालले कास्य जितेको हो ।

गौरिकाले १२औं सागमा एक रजत र दुई कास्यपदक जितेकी थिइन् ।

नेपालले १३औं सागमा पौडीमा चार स्वर्ण, तीन रजत र सात कास्य गरी १४ पदक जितेको छ ।