२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई हरायो, फाइनल प्रवेशको सम्भावना जीवितै


0
Shares

काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गर्दै फाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ ।

नेपालले शुक्रबार माल्दिभ्समाथि ८४ रनको जित निकाल्यो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

करण केसीले १६ बलमा अविजित ४० रन, उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ३९, विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९ रन बनाए । आरिफ शेखले १७ रन जोड्दा पूर्वकप्तान पारस खड्काले ११ रनको योगदान गरे ।

माल्दिभ्सका लिम शफिगले सर्वाधिक ३ विकेट लिए ।

जवाफमा माल्दिभ्सले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ७९ रनमात्र बनाउन सक्यो ।

सुशन भारी र ललित राजवंशीले समान २/२ विकेट लिएको इनिङ्समा पवन सर्राफले १ विकेट झारे ।

यसअघि, बिहीबार नेपालले भुटानमाथि १४१ रनको कीर्तिमानी जित निकालेको थियो । नेपाल पहिलो खेलमा मंगलबार श्रीलंकासित ६ विकेटले पराजित भएको थियो ।

तीन खेलमा दुई जित निकालेको नेपाल अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । तीनओटै खेल जितेको श्रीलंका शीर्ष स्थानमा छ । बंगलादेश दुई जितसहित दोस्रो स्थानमा छ ।

फाइनलमा पुग्न नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्ने दबाब छ ।