
प्रज्ञा तिमल्सिना र विनोद (इमेज)
काठमाडौं, मंसिर १९ । ‘एपेन्डिसाइटिस’को समस्या आएपछि यही मंसिर १० गते अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘डिस्चार्ज’ गरिएको छ ।
प्रधानमन्त्री ओलीलाई ‘स्वास्थ्यलाभ’ भएको तर अझै केही दिन आराम गर्नुपर्ने त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।
एपेन्डिसाइटिसमा संक्रमण भएपछि प्रधानमन्त्री ओलीको मंसिर १० गते नै आकस्मिक शल्यक्रिया गरिएको थियो ।
एपेन्डिसको शल्यक्रियापछि प्रधानमन्त्रीलाई एक रात ‘भेन्टिलेटर’मा राखियो भने उनी १० दिनपछि पनि ‘आइसीयु’कक्षबाटै डिस्चार्ज भएका हुन् ।
१० दिन अस्पताल बसाइँका क्रममा प्रधानमन्त्री ओलीको चारपटकसम्म मिर्गौलाको ‘डायलासिस’समेत गरिएको थियो ।
प्रधानमन्त्रीसँग भेटघाट गर्न रोक लगाइयो । एपेन्डिसाइटिससँगै पेटमासमेत संक्रमण फैलिएपछि प्रधानमन्त्रीको स्वास्थ्यप्रति निकै जनचासो बढेको थियोे ।
तर, अस्पताल, चिकित्सक र प्रधानमन्त्रीको निजी सचिवालयले स्वास्थ्य अवस्था स्थीर रहेको भन्नेबाहेक यथार्थ जानकारी दिन भने कञ्जुस्याईं गरिरहे । जसका कारण स्वास्थ्य अवस्थाका बारेमा बारम्बार अफवाह पनि फैलियो ।
स्वास्थ्य अवस्थाबारे विभिन्न अफवाह फैलिएसँगै प्रधानमन्त्री ओलीले नै मंसिर १७ गते भिडियो सन्देश नै दिनुपर्यो । जसमा अकस्मात् आफूलाई यस्तो समस्या आइलागेको र आफू स्वस्थ हुँदै गएको जानकारी दिएका थिए ।
पूर्णरुपमा ठीक हुन अझै हप्ता–१० दिन लाग्ने बताएका प्रधानमन्त्री ओली भिडियो सन्देश दिएको तेस्रो दिन नै डिस्चार्ज भएका छन् ।
प्रधानमन्त्री अस्पताल भर्ना भएको तीन दिनपश्चात् अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार डिस्चार्ज हुनुअघि पनि प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगिन् ।
अस्पतालबाट फर्कनेक्रममा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर निवास गएको दाबी गरेका छन् ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएपनि पूर्णरुपमा स्वस्थ हुन केही समय लाग्ने बताएकी छन् ।
प्रधानमन्त्री ओलीको पुनः मिर्गौला प्रत्यारोपण गर्नेबारे पनि छलफल भइरहेको डा. दिव्याले जानकारी दिइन् ।
प्रधानमन्त्रीको यसपटकको उपचारमा दुई लाख ५४ हजार ६८८ रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्