
काठमाडौं, मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् तेक्वान्दोमा नेपालले १२ ओटा स्वर्णपदक जितेको छ ।
पहिलो दिन ७, दोस्रो दिन २ र तेस्रो दिन २ स्वर्णपदक जितेको नेपालले बिहीबार अन्तिम दिन एउटा स्वर्णपदक हासिल गरेको हो ।
बिहीबार भूपेन श्रेष्ठले ८७ केजीमुनि तौल समूहमा स्वर्णपदक जितेका हुन् ।
फाइनलमा भारतीय खेलाडी अक्षय होडालाई अंकका आधारमा २९–२६ ले पराजित गर्दै भूपेनले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्णपदक जित्न सफल भएका हुन् ।
स्वर्णको आशा, रजतमै सीमित
स्वर्णपदकको आशा गरिएकी मनिता शाही भने रजतपदकमै सीमित भएकी छन् । ७३ केजीमुनि तौल समूहमा मनिता भारतकी मार्गरेट मारिया रेगीसित फाइनलमा १५–० को फराकिलो अन्तरले पराजित भइन् ।
त्यस्तै, ८० केजीमुनि तौल समूहमा किरणबहादुर आलेले रजतपदक जितेका छन् । फाइनलमा किरण पाकिस्तानी खेलाडी राब नवाजसित ३३–७ ले पराजित भए ।
त्यस्तै, अप्सरा कार्की पनि रजतमै समेटिएकी छन् । अप्सरा भारतीय खेलाडी रुचिका भाभेसित ८–५ ले पराजित भइन् ।
महिला ४९ केजीमुनि तौल समूहमा आयशा नूरले भने कास्यपदकमात्र जितिन् ।
प्रतिक्रिया दिनुहोस्