२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


नेपाल श्रीलंकालाई हराउन अन्तिम समयमा चुक्यो


0
Shares

काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष फुटबलको समीकरण रोमान्चक बन्दै गएको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकासित बराबरी खेलेपछि समीकरण रोमान्चक बनेको हो ।

बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकासित १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।

अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले २ अंक गुमाउन पुग्यो ।

‘इन्जुरी’ समयमा श्रीलंकाका मोहम्मद आकिबले ‘फ्रिकिक’मा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

त्यसअघि, खेलको ३७औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत् गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

यसअघिको पहिलो खेलमा नेपालले भुटानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो । श्रीलंकाले भने पहिलो खेलमा माल्दिभ्ससित गोलरहित बराबरी खेलेको थियो ।

त्यस्तै, भुटानले पहिलो खेलमा बंगलादेशमाथि १–० को सनसनीपूर्ण जित हासिल गरेको थियो ।

बंगलादेश र माल्दिभ्सले भने १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

दोस्रो चरणका खेलपछि नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ । भुटान ३ अंकसहित दोस्रो स्थानमा रहँदा माल्दिभ्स र श्रीलंका समान २ अंकका साथ तेस्रो र चौंथो स्थानमा छन् । बंगलादेश १ अंकका साथ पुछारमा छ ।

‘राउन्ड रोबिन लिग’का आधारमा जारी खेलका शीर्ष दुई टोली स्वर्णपदकका लागि फाइनल खेल्नेछन् ।