
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका राष्ट्रपति हसन रुहानीसँग पूर्व सर्त बिनै जुनसुकै समयमा भेट्न तयार रहेको बताएका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले आफू छलफलमा विश्वास गर्ने भएकाले जोसँग पनि भेट्न तयार रहेको बताए ।
ट्रम्प र रुहानीबीचको वाकयुद्धले तनाब बढाइरहेका बेला ट्रम्पको यस्तो प्रस्ताव सार्वजनिक भएको हो ।
दुई नेताबीच भेट भए त्यो सन् १९७९ को इरानी क्रान्तिपछि दुई मुलुकका नेताबीचको पहिलो भेटवार्ता हुनेछ ।
गत जुनमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीचको भेटवार्ता पनि धेरैका लागि अविश्सनिय रहेको थियो ।
यता इरानको रिभोलुसनरी गार्डका शीर्ष कमाण्डरले ट्रम्पको भनाई बृहद् अमेरिकी रणनीतिको हिस्सा भएको प्रतिक्रिया दिएका छन् ।
हालै मात्र ट्रम्पले अमेरिकालाई धम्की दिए इरानले इतिहासमा मै सामना नगरेको दुश्परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।
रुहानीले पनि इरानसँगको युद्ध सबैभन्दा ठूलो युद्ध हुने धम्की दिएका थिए ।
गत मे मा आणविक कार्यक्रम नियन्त्रण गर्ने इरान र शक्ति राष्ट्रबीचको सम्झौताबाट अमेरिकाले हात झिकेर थप प्रतिबन्द लगाएपछि दुई मुलुकको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
सन् २०१५ को उक्त सम्झौताका अरु हस्ताक्षरकर्ता मुलुकहरु बेलायत, फ्रान्स, चीन, रसिया र जर्मनीले भने अमेरिकी कदमको विरोध गरेका छन् ।
मध्यपूर्वमा इरानको गतिविधिलाई अमेरिका आफ्नै सहयोगी इजरायल र साउदी अरेवियासँगै शंकालु रहँदै आएको छ ।
इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्