
काठमाडौं, मंसिर १३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेलतालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालय सातदोबाटोमा शुक्रबार भएको टाइसिट ‘ड्र’अनुसार यही मंसिर २८ गते पहिलो खेल मच्छिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)बीच हुने भएको छ ।
दोस्रो दिन मंसिर २९ गते संकटा क्लब र च्यासल युथ क्लब तथा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ ।
मंसिर ३० गते सरस्वती युथ क्लब र न्यूरोड टिम (एनआरटी) तथा मनाङ–मर्स्याङ्दी र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै, पहिलो चरणको अन्तिम दिन पुस १ गते थ्रीस्टार क्लब र जावलाखेल युथ क्लब तथा नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्लबबीच खेल हुनेछ ।
पहिलो साताको कुनै एक खेलमा लिगको उद्घाटन गरिने एन्फाले जनाएको छ ।
खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । च्यासल मैदानलाई विकल्पकारुपमा राखिएको बताइएको छ ।
लिग नियमावली उपलब्ध नगराएको भन्दै मनाङ, एनआरटी र च्यासलले टाइसिट ‘ड्र’ बहिस्कार गरेका छन् ।
‘ए’ डिभिजन लिगमा १४ क्लब सहभागी हुँदैछन् ।
प्रतिक्रिया दिनुहोस्