१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पश्चिम युरोपमा बाढीका कारण मृत्यु हुनेको संख्या १७० पुग्यो


0
Shares

एजेन्सी । जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स, लग्जेम्बर्गसहितका देशमा भारी वर्षासँगै आएको बाढीका कारण १७० भन्दा धेरैको मृत्यु भएको छ ।

अझै धेरै मानिसहरु बेपत्ता रहेका छन् । बाढीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ । बाढीका कारण बेपत्ता भएकाहरुको खोजीका लागि उद्धारकर्मीहरुले प्रयास गरिरहेका छन् ।

बाढीले जर्मनी र बेल्जियममा गम्भीर प्रभाव पारेको छ । पानी कम हुँदै जाँदा बाढीले बगाएका तथा डुबाएका कारहरुमा फसेका मानिस वा उनीहरुको शवको खोजी भइरहेको छ ।

यसैबीच बाढी प्रभावित क्षेत्रको स्थगलत भ्रमणमा रहेका बेला हाँसेको भन्दै जर्मनीका शीर्ष राजनीतिज्ञको तीव्र आलोचना भएका छ ।

आउँदो चुनावमा चान्सलर एङ्गेला मर्केलको स्थान लिने उद्देश्यसहित कन्जरभेटिभ उम्मेदवार बनेका क्रिष्टियन डेमोक्र्याटिक युनियन अफ जर्मनीका नेता अर्मिन लास्चेत राष्ट्रपति फ्र्यांक–वाल्टरले प्रभावितहरुप्रति समवेदना प्रकट गरिरहेका बेला सहकर्मीहरुसँग अर्मिन हाँसिरहेको भिडियो भाइरल भएको हो ।

अर्मिनले आलोचना तीव्र भएपछि ट्वीट गरि आफ्नो व्यवहारप्रति माफी मागेका छन् । देश रोइरहेका बेला उनी हाँसेको भन्दै आलोचना भइरहेको छ । जर्मन चान्सलर मर्केलले आज बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने तयारी छ ।

युरोपियन नेताहरुले जलवायु परिवर्तनको प्रभावका कारण भारी वर्षा भइ बाढी आएको भन्दै तत्काल प्रभावकारी कदम चाल्नका लागि अपील गरेका छन् ।

बाढीमा परि ज्यान गुमाउनेमा कम्तीमा १४३ जना जर्मनीका हुन्, जसमा चार जना अग्निनियन्त्रक पनि छन् ।