मोबाइलले एक्ल्याउँदै बालबालिका « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


मोबाइलले एक्ल्याउँदै बालबालिका


0
Shares

दुर्गा आचार्य

बलेफि गाउँपालिका ६ की गोमा आचार्य बच्चाले मोबाइललाई लत बनाएपछि चिन्तित छिन् । सुरु सुरुमा बच्चा रुँदा मोबाइल देखाएर चुप बनाउने बानी अहिले बच्चाको लत भएको छ । ‘मोबाइल विना खाना खुवाउनै सकिन्न’, उनले भनिन्, ‘सुरुमा सानो हुँदा चुप बनाउन मोबाइलमा कार्टुन देखाइयो अहिले त्यही बानी भयो ।’ बच्चालाई मोबाइल नभए टिभिमा भएपनि कार्टुन देखाउनैपर्छ । मोबाइल र टिभिको लतले बच्चा एकोहोरो होला भन्ने चिन्ताले उनलाई सताउन थालेको छ । अहिलेपनि अरु कोहीसँग बोल्ने खेल्ने भन्दा बढी टिभि र मोबाइलमा बच्चाको ध्यान हुन्छ । मोबाइल हेर्न थालेपछि उसलाई कसैले बोलाएको वास्ता नै हुन्न, उनले गुनासो पोखिन् । साढे २ वर्षको छोराको मोबाइल लत कसरी छुटाउने भन्ने चिन्ताले उनलाई सताउँछ । घरमा सासुससुरा नहुँदा एक्लै भएका कारण पनि मोबाइलमा बच्चा भुलाउनुपर्ने उनको बाध्यता थियो । तर, यसैगरी बच्चा मोबाइलमा मात्रै झुम्मिदा अन्य सिर्जनात्मक सिकाइ र शारिरीक गतिविधि गर्न मनै नगर्ने समस्या हुन सक्ने चिन्ता उनमा छ ।

सुनकोसी ६ का अर्पण नेपाल पनि मोबाइलमा एकदम रमाउँछन् । मोबाइलमा गेम खेल्न पाए मलाई केही पनि चाहिन्न अति रमाइलो लाग्छ उनले भने । १ कक्षामा पढ्ने उनलाई पढ्न भन्दा मोबाइलमा गेम खेल्न अति नै मनपर्छ । जतिबेला बुबा आमाको मोबाइल पाउँछन् उनी खेल्न थालिहाल्छन् । ‘एकदमै झगडा गरेर बसेपनि मोबाइल दिन्छु भनेपछि चुप हुन्छ’ अर्पणको आमाले भनिन्, ‘औषधि जस्तो पो भयो मोबाइल ।’ ‘म शिक्षक पनि हुँ’, उनले भनिन्, ‘विद्यालयमा पनि धेरै अभिभावकको गुनासो यही छ ।’ विद्यालयमा पनि अभिभावकहरु मोबाइल बाहेक केही हेर्दैन भन्दै गुनासो लिएर आउने गरेको उनले बताइन् । मोबाइल सञ्चारको भरपर्दो माध्यम त हो नै यसले फाइदा सँगसँगैं धेरै बेफाइदा लिएर आएको छ । ‘एन्ड्रोइड’ मोबाइलमा भएका फिचरहरुले बच्चालाई मात्रै होइन उमेरदार र बुझ्नेलाईसम्म भुलाउन सक्ने उनको ठम्याइ छ । ‘आफन्त भेटेपनि सबै मोबाइलमा नै व्यस्त हुन्छन्’ उनले भनिन, ‘आफन्तबीचको भावनात्मक सम्बन्ध नै कम भएको छ ।’

यता, बलेफि गाउँपालिका ६ खाडिचौरका चेतन आचार्य मोबाइल भनेपछि मरिहते गर्छन् । मोबाइल पायो कि गेम खेल्ने उनको बानी छ । उनी आफ्नो घरमा आएका जो कोहीको मोबाइल मागेर गेम डाउनलोड गर्छन अनि खेल्न थालिहाल्छन् । मोबाइलमा गेम र कार्टुन हेर्न पाएपछि उनी खानसमेत भुल्छन् । १२ वर्षका उनी अहिले टिकटक समेत बनाउँछन् । ‘मोबाइल खोसेर राख्यो लोलाएर झोक्राएजस्तो हुन्छ’, ‘चेतनकी आमाले भनिन्, त्यसैले पनि बच्चाको खुशीका लागि मोबाइल दिने गरेको छु ।’ ‘मोबाइल भएपछि केटाकेटी घरै बस्छन् भन्ने खुशी त हुन्छ तर आफै अगाडि भएको कोहीलाई पनि उनीहरु देख्दैनन्, एकोहोरो हुन्छन्, न खेल्न जान्छन् न पढछन्, न मन लाएर खान्छन् नै’ चेतनकी आमाले दुखेसो पोखिन् । मोबाइल हेरेपछि के कति खायो समेत थाहा हुँदैन थालमा तरकारी दाल भात के छ पनि बच्चालाई थाहा हुन्न कहिले त निस्तै भात मोबाइल हेर्दै खाइरहेको आफूले देखेको उनले बताइन् ।

बाह्रबिसे नगरपालिका ८ मानेश्वरा स्वास्थ्य चौकीका प्रमुख गायत्री नेपाल मोबाइलले सम्बन्धमा दरार आएको बताउँछिन् । उनी भन्छिन्, ‘खाना खान मात्रै होइन ट्वाइलेट जाँदा समेत मोबाइलको प्रयोग गर्छन् ।’ स्वास्थ्य चौकीमा मोबाइलको लत बच्चालाई लागेको समस्या लिएर आउने गरेको उनले बताइन् । तर यो लत बच्चालाई मात्रै होइन ठूलालाई पनि उतिकै रहेको उनको बुझाइ छ । बच्चाहरुमात्रै होइन् ठुला मान्छेलाई पनि स्क्रिनमै रमाउने बानी परेको छ । बच्चाहरुलाई खाना खुवाउन मोबाइल प्रयोग गर्छन्, अलि ठूला भए कार्टुन हेर्ने, अझै ठूला भए फेसबुकमा रमाउने र महिलाहरु भए टेलिफिल्ममा हेरेको हेरेइ गर्ने समस्या घरघरको कहानी रहेको उनको ठम्याइ छ । अहिले मोबाइल चलाउन नजान्ने एकदम एक्लो र दुखी भएका छन् । ‘मोबाइल चलाउन जान्ने सबै त्यसमै व्यस्त हुन्छन्, कुरा गर्यो झर्कने, रिसाउने गर्छन्, आफ्नो कुरा कसलाई भन्ने भनेर वृद्धवृद्धाहरु स्वास्थ्य चौकी आउने गरेका छन्’, उनले भनिन् ।

पछिल्लो समय मोबाइलको प्रयोगले विद्यार्थीको पढाइमा पनि समस्या देखिएको बालशिक्षा माविका प्रधानध्यापक बासु पौडेलले बताए । अनलाइन कक्षासँगैं बालबालिकामा मोबाइल मोह बढेको उनको जिकिर छ । ‘सबै अभिभावकमा ल्यापटप किन्ने हैसियत हुन्न’, उनले भने, ‘मोबाइलमा अनलाईन कक्षा लिँदा मोबाइलको लत बालबालिकामा बढेको छ ।’ मोबाइल नयाँ राम्रा कुराहरु सिक्ने माध्यम पनि हो । तर धेरैले यसलाई समय कटाउने माध्यमका रुपमा बढी प्रयोग गर्ने गरेका छन् । विद्यार्थीमा मात्रै होइन शिक्षकमा समेत मोबाइलको प्रयोग बढी गर्ने गरेको उनको पनि ठम्याइ छ । ‘यसको नकारात्मक असर सँगैं सकारात्मक कुराहरुपनि छन्’, उनले भने, ‘तत्काल शिक्षणसँग सम्बन्धित कुराहरु शिक्षकले गुगलमा खोजेर विद्यार्थीलाई पढाउन सक्छन् ।’ मोबाइलको प्रयोगले बालबालिकाहरु प्रिवारबाट टाढा हुने गरेका छन् । उनीहरुलाई एकान्त मनपर्छ र कसैले बोलेको मन नपर्ने बानी परेको छ । यसले सामाजिक भावना र आत्मीयता घटाएको पौडेलको ठहर छ । विद्यार्थीमा सिर्जनात्मकतामा ह्रास आएको छ, भने पढाइमा पनि ध्यान दिन सकेका छैनन् ।

एक शिक्षिकका अनुसार जिल्लाकै एक विद्यालयमा शिक्षकले बढी मोबाइल प्रयोग गरेपछि अहिले विद्यार्थी भर्ना नै घटेको छ । शिक्षकले मोबाइल धेरै चलाउने र शिक्षणमा ध्यान दिन नसकेको विद्यार्थीले अभिभावकलाई भनेपछि विद्यार्थी भर्ना कम भएको हो । नाम नबताउने सर्तमा ती शिक्षिकाले भनिन् ‘विद्यार्थीले मोबाइलमा मात्रै झुण्डिने मिस उ भन्दै देखाउँछन्, कतिपटक सम्झाउनु अहिले त त्यही कारण विद्यार्थी भर्ना समेत घटेको छ ।’

यी त उदाहरण मात्रै हुन् । आधुनिक विकासको एक स्वरूप मोबाइल फोन भएको र यो अहिले प्रायः धेरैको हातमा पुगिसकेको अवस्थामा जवान, वृद्धदेखि बालबालिका सबैमा मोबाइलको अत्यधिक लत बसेको कुमुदिनी संस्थाका संस्थापक तथा मनोविद् अनुराधा आचार्य बताउँछिन् । बाबुआमाले पनि बच्चालाई मोबाइल दिएर भुलाउने गरिरहेका कारण निरन्तर मोबाइल फोनको प्रयोगले बालबालिकामा तनाव हुने, आँखा दुख्ने, टाउको दुख्ने, बाबुआमासँग धेरै नबोल्ने, बोलाउँदा तीन चारपटकसम्म बोलाउनुपर्ने, पढाइप्रति लगाव कम हुने, अश्लील चित्र र भिडियोको लत बस्ने, साइबर अपराधतिर तानिने समस्याहरू देखिन सक्ने भएकाले अभिभावक समयमै सचेत रहनुपर्ने आचार्यको भनाइ छ ।
यसको समाधानका लागि विशेष गरेर घरपरिवार बाबुआमा, शिक्षकको अग्रसरता हुनुपर्ने आचार्यले बताइन् । उनीहरूले मोबाइलको ठाउँमा खेल खेलाउने, कहानी भन्ने, बच्चासँग आफू पनि सँगै खेल्ने, चित्र कोर्ने आदि उपायबाट बालबालिकामा बसेको मोबाइलको लत छुटाउन सकिने उनी बताउँछिन् ।

लगातार मोबाइलको प्रयोगले तनाव, चिन्ता तथा बेचैनी, उदासीनता, निद्राको समस्या, थकान महसुस हुनु, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने, ध्यान केन्द्रित गर्न समस्या हुनेलगायतका मानसिक लक्षण देखापर्ने डा. उत्सव रेग्मी बताउँछन् । मोबाइलको अत्यधीक प्रयोगले आँखामा दिर्घकालीन समस्या आउन सक्ने उनको ठम्याई छ ।

‘लगातार मोबाइल चलाइरहनाले बालबालिकामा ब्रेनको विकास नहुने र एकै ठाउँमा बसिरहँदा ढाड दुख्ने, टाउको दुख्ने, घाँटी र गर्दन दुख्ने, आँखामा समस्या लगायतका शारीरिक लक्षण पनि देखिने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ’ मनोविद आचार्यले भनिन् ।
लगातार इन्टरनेट वा मोबाइल चलाइरहने छोराछोरीलाई अभिभावकले उनीहरूको व्यवहार परिमार्जन गर्न सहयोग गर्नुपर्ने मनोविद् आचार्यको भनाइ छ । मोबाइल नचलाई नमान्ने बच्चा भए घरका काम दिने र सो काम सकेपछि सकेको इनामका रूपमा मात्र केही समय प्रयोग गर्न दिने, यसो गर्दा मोबाइल प्रयोग विस्तारै घट्ने तथा दिनमा केही समयका लागि फोन बन्द गर्न लगाई बच्चासँग आफूले समय बिताउने काम पनि अभिभावकले गर्नुपर्ने आचार्य बताउँछिन् ।