
विराटनगर, साउन १२ । ‘चोरको हजार दाउ’ भनेजस्तै विराटनगरमा एकजनालाई सुनको सिक्री निलेर चोरी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश नम्बर–१ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार मोरङको विराटनगरस्थित एक सुन पसलबाट प्रहरीले शुक्रबार साँझ सुनको सिक्री निल्ने एकजनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–९ स्थित अरुणकुमार राठीले सन्चालन गरेको राठी सुन पसलमा सिक्री किन्ने बहाना बनाइ सुन किन्न गएका इटहरी उपमहानगरपालिका–२ बस्ने ३१ वर्षीय सुरजकुमार नेपालले पसलमा सुनको सिक्री खरिद गर्ने भन्दै ऐना हेरी गलामा लगाउने बहानामा सिक्री निलेर पाइन्टको गोजीमा आफूसँग भएको नक्कली सुन निकालेर पसलमा फिर्ता गरेको अवस्थामा पक्राउ गरिएको हो ।
निज नेपालले सिक्री मन नपरेको बताउँदै सिक्री फिर्ता गरेका थिए ।
पसलेलाई शंका लागी प्रहरीमा खबर गरेपछि वडा प्रहरी कार्यालय ‘ख’ विराटनगरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको नियन्त्रणमा रहेका नेपालको शरीर खानतलासी गर्नेक्रममा सिक्री फेला नपरेपछि निलेको हुनसक्ने अनुमान गर्दै भिडियो एक्सरे गरिएको अवस्थामा पेटभित्र सिक्री देखापरेको थियो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्