
पोखरा, जेठ २८ । गण्डकी प्रदेशका विपक्षी गठबन्धनका दलहरुले प्रमुख सीता पौडेलसमक्ष नयाँ सरकार बनाउन बहुमतको दावी पेश गरेका छन् ।
नयाँ सरकारका लागि बहुमतको दावी गर्न सत्ताको साँचो बनेको राजिव गुरुङ उर्फ दिपक मनाङ्गेसहितका ३१ सांसद प्रदेश प्रमुखसमक्ष पुगेका हुन् ।
प्रदेश प्रमुखकहाँ विपक्षी गठबन्धनका सांसदहरूले संविधानको धारा १६८ (५) अनुसार सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन रहेको जनाएका छन् ।
यसअघि प्रदेश प्रमुख पौडेलले सरकार बनाउने दावी पेश गर्न २४ घन्टाको समय दिनुभएको थियो । प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको थियो ।
ठूलो दलका नेताको हैसियतले गत २९ वैशाखमा मुख्यमन्त्री बन्नुभएका पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत गुमाउनुभएको थियो ।
मतदानमा ६० सदस्यीय प्रदेश सभाका २७ एमाले सांसदबाहेक अरुले उहाँलाई साथ नदिँदा ५७ मत खसेकोमा उहाँको विपक्षमा ३० मत परेको थियो ।
जनमोर्चाका कृष्ण थापा तटस्थ बस्दा स्वतन्त्र सांसद दीपक मनाङ्गे संसदमै उपस्थित भएनन् । ह्वीप उल्लंघन गरेको भन्दै राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई फेरि पदमुक्त गरेको छ ।
कुल ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन बहुमत अर्थात ३१ मत आवश्यक पर्छ । नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्