Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


महाकालीमा जलस्तर बढेपछि धौलीगंगा बाँधको सिल्ट सफाइ स्थगित


0
Shares

प्रकाश भट्ट, कञ्चनपुर । निरन्तर वर्षाका कारण महाकाली नदीको जलस्तर बढेपछि भारतको धौलीगंगा बाँधबाट पानी छोडेर सिल्ट सफा गर्ने असोज ११ र १२ गतेको कार्यक्रम स्थगित गरिएको छ। महाकालीको उच्च बहावका कारण थप पानी छोड्दा तल्लो तटीय क्षेत्रमा जोखिम बढ्ने भएपछि भारतीय पक्षले तत्काल बाँध नखोल्ने निर्णय गरेको हो।

धारचुलाका उपजिल्लाधिकारी आशीष जोशीले धौलीगंगा पावर स्टेसनलाई पत्र पठाउँदै प्रतिकूल मौसम र महाकालीको उच्च जलस्तरका कारण खतरा तह पार हुन सक्ने जोखिम औँल्याउँदै अर्को मिति तय गर्न आग्रह गर्नुभएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी बर्तराज पौडेलका अनुसार बाँध खोल्नुअघि भारतीय पक्षले पुनः सूचना जारी गर्नेछ। उच्च हिमाली क्षेत्र टिंकर, छाङ्ग्रु र खण्डेश्वरीमा हिमपातसमेत भइरहेको उहाँले बताउनुभयो।

भारतको बनबासास्थित शारदा ब्यारेजमा आइतबार बिहान ११ बजे महाकालीको बहाव १ लाख ७५ हजार ७ सय १६ क्युसेक पुगेको छ। एक लाख क्युसेक नाघेपछि गड्डाचौकी–बनबासा नाकाबाट चारपाङ्ग्रे मालवाहक तथा यात्रुवाहक सवारीसाधनको आवागमन रोकिएको छ। दुई लाख क्युसेक नाघेपछि दुईपाङ्ग्रे र पैदल आवागमनसमेत रोक्ने गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताउनुभयो।

महाकालीसँगै जोगबुढा, चौधर, स्याली, दोदा र मोहना नदी तथा खोलामा पनि बहाव बढेको छ। दोधारा चाँदनी, भीमदत्त र पुनर्वासका जोखिमयुक्त क्षेत्रमा निगरानी बढाइएको छ भने प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले उद्धार तथा सुरक्षित स्थानान्तरणको तयारी गरेका छन्।

सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षा जारी रहेकाले महाकालीको बहाव अझै बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान र आधिकारिक सूचनाको पालना गर्न प्रशासनले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा यातायातसमेत प्रभावित भएका छन्।

Skip This