लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित • Image Khabar Image Khabar


लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित


Imagekhabar
१७ जेष्ठ २०७८, सोमबार १६:४२

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित

बुटवल, जेठ १७ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित हुनुभएको छ।

सोमबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुनुभएको हो ।

पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाउनुभयो भने खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाउनुभएको थियो ।

निर्वाचित पाण्डेले ४ हजार १४० मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्काले ३ हजार ५९४ मतभार पाउनुभएको हो । प्रदेशसभा तर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । पराजित खड्का भने नेकपा माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गर्नुभएको हो ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएलगत्तै खड्का एमालेमा प्रवेश गर्नुभएको थियो । तर, माओवादी केन्द्रले कारबाही गरेपछि खड्काको सांसद पद रिक्त भएको थियो । सोही स्थानमा गराइएको उपनिर्वाचनमा पाण्डे विजयी हुनुभएको हो ।

निर्वाचनमा स्थानीय तहतर्फ बाँके नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणा, बाँकेकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा मतदानमा अनुपस्थित रहनुभयो ।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित
प्रतिक्रिया दिनुहोस्