
भीमदत्तनदगर, साउन ११ । कन्चनपुरको भीमदत्त नगरपालिका–२, खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको छ ।
भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा मृत अवस्थामा बालिका भेटिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।
बिहीबार साथीको घरबाट कापी–कलमसहित साइकलमा घर फर्कंदै गरेकी बालिकाको शव शुक्रबार बिहान भेटिएको हो ।
बिहीबार साँझसम्म छोरी घर नपुगेपछि परिवारजनले खोजबिनका लागि प्रहरीलाई खबर गरे पनि वास्ता नगरेको मृतकका आफन्तहरुको गुनासो छ ।
घटनास्थलमा खटिएको प्रहरी स्रोतकाअनुसार बालिकाको बलात्कारपछि हत्या गरी शव उखुबारीमा फालिएको देखिन्छ ।
प्रहरीले घटनामा संलग्नताको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
अध्ययनमा लगनशील बालिका स्थानीय सरस्वती माविमा कक्षा–९ मा अध्ययनरत् थिइन् ।
स्थानीयले उक्त क्षेत्रमा असुरक्षा बढेको भन्दै विगतमासमेत स्थानीय प्रशासनसित सुरक्षा मागेका थिए । तर, सुनुवाइ नहुँदा घटना भएको स्थानीयको आरोप छ ।
घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बालिकाको शव परीक्षणका लागि घटनास्थलबाट ल्याउन दिएका छैनन् ।
बालिकाको शव उखुबारीमा भेटिएपनि उनको साइकल, किताब, कापी र चप्पल भने छेउमै रहेको खोलामा फेलापरेको थियो ।
सुरक्षाको माग गर्दै उनीहरुले प्रहरीचौकी स्थापनाको ग्यारेन्टी भएमात्रै शव लैजान दिने अडान लिएका छन् । प्रहरीलाई शव ल्याउन नदिएपछि घटनास्थलबाट प्रहरी टोली फर्किएको छ ।
सदरमुकाम महेन्द्रनगरबाट केही मिनेटको दूरीमा रहेको घटनास्थल क्षेत्रमा स्थानीयको भीड लागेको छ ।
कन्चनपुरमा एकपछि अर्को हत्याका घटना बढिरहेको भएपनि प्रहरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सकिरहेको छैन ।
केही दिनअघि पनि कृष्णपुर नगरपालिकामा एक युवतीको हत्या गरी शव जंगलमा फालिएको अवस्थामा भेटिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्