
काठमाडौं, कात्तिक १४ । काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत् प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको दुईपटक ‘डायलासिस’ गरिएको छ ।
स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पताल भर्ना भएका उनको बुधबार र बिहीबार गरी दुईपटक डायलासिस गरिएको हो ।
प्रधानमन्त्री ओलीलाई भेट्न बिहीबार अस्पताल पुगेका सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको डायलासिस गरिएको र उनी आजै ‘डिस्चार्ज’ हुने बताए ।
‘अहिले त सामान्य नै छ । भर्खरै एउटा डायलासिस भएको छ । अब एकैछिन रेस्ट गरेर उहाँ डिस्चार्ज हुँदैहुनुहुन्छ । आज बालुवाटार जानुहुन्छ’–चिकित्सकको भनाइ उद्धृत गर्दै दाहालले भने ।
उनले प्रधानमन्त्री ओलीको बुधबार र बिहीबार गरी दुई डायलासिस गरिएको जानकारी पनि दिए ।
अब फेरि डायलासिस गर्नपर्ने/नपर्नेबारेमा भोलि–पर्सीसम्मको स्थिति हेरेर भन्न सकिने चिकित्सकको भनाइ रहेको उनले बताए । ‘नियमित भन्ने अहिले फाइनल भएको छैन’–उनले भने ।
प्रधानमन्त्रीले आफूसित कुरासमेत गरेको उनले बताए ।
‘कुरा गर्नुभयो । अलिकति समस्या अलि छिटो–छिटो देखापर्यो । तर, अहिलेचाहिँ ठीक भयो । अब डिस्चार्ज हुने भन्ने छ । अरु त ठीकै छ भनेर भन्नुभयो’–प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै दाहालले भने ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न नेकपाका नेताहरु भीम रावल, नारायणकाजी श्रेष्ठलगायत अस्पताल पुगेका थिए । तर, डायलासिस भइरहेकाले उनीहरुले प्रधानमन्त्रीलाई भेट्न भने पाएनन् ।
‘प्लाज्मा फेरेसिस’ पद्दतिबाट उपचार गरेको दुई महिनामै प्रधानमन्त्री ओलीको १२ वर्षअघि प्रत्यारोपित मिर्गौलाको डायलासिस गरिएको हो ।
सिंगापुरमा मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ बढी देखिएपछि त्यो हटाउन प्लाज्मा फेरेसिस पद्दतिबाट उपचार गरिएको थियो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्