२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तिहारमा सुरक्षाका लागि कुकुरबाट चेकजाँच


0
Shares

काठमाडौं । तिहारको मौका छोपेर पटाकासहितका विस्फोटक पदार्थ र अवैध हातहतियारसहितका वस्तु राजधानी भित्रिन सक्ने भन्दै नाका चेकजाँचलाई प्रहरीले कडाइ गरेको छ ।

पटाकासहितका विस्फोटक पदार्थ ओसारपसारमा कडाइ गर्दै आएको प्रहरीले तिहारको मौका छोपेर हातहतियारसमेत ओसारपसार हुन सक्ने भन्दै राजधानी भित्रिने नाकामा तालिम प्राप्त कुकुरसहितको विशेष टोली खटाएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले राजधानी भित्रिने सबै नाकामा तालिमप्राप्त कुकुरसहितको विशेष टोली खटाइएको बताए ।

‘पटाकासहित विस्फोटक पदार्थ ओसारपसारलाई रोक्न र अवैध हातहतियारको ओसारपसार हुन नदिन राजधानी भित्रने र बाहिरिने सबै नाकामा तालिमप्राप्त कुकुरसहितको विशेष चेकजाँच टोली खटाइएको छ,’ परिसर प्रमुख एसएसपी सुवेदीले राजधानीसँग भने ।

उनले तिहारलाई व्यवस्थित बनाउन प्रहरीले सर्वसाधारणमा जनचेतनामूलक कार्यक्रम र सुरक्षामा सावधानी दुवै अपनाएको बताए ।

यसैगरी, राजधानीको तिहार सुरक्षालाई ध्यान दिँदै काठमाडौं प्रहरीले बढी भीडभाड हुने स्थानमा सादा पोसाकमा समेत प्रहरी खटाइएको छ ।

यस्तै विभिन्न स्थानमा चेकप्वाइन्टसमेत स्थापना गरेको छ । यसैगरी, तत्कालै घटनास्थलमा पुग्न सक्नेगरी विशेष मोबाइल टोलीसमेत खटाएको परिसर काठमाडौंका प्रमुख सुवेदीले जानकारी दिए । -राजधानी दैनिक