२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


संविधानको विरोध गरेर कतै पुगिँदैन : प्रधानमन्त्री


0
Shares

काठमाडौं, कात्तिक ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले नेपालको संविधानको प्रशंसा गरिरहेको तर देशकै केही व्यक्तिहरुले कुनामा बसेर संविधानको विरोध गर्ने गरेको बताएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘फ्युचर पोलिसी सिल्भर अवार्ड’ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत कुन्ठा पालेर संविधानको विरोध गरेर कतै नपुगिने बताए ।

उनले विश्वका विकसित मुलुकले गराउन नसकेको महिला सहभागिता नेपालले गराएको दाबी गरे ।

नेपालले लिएको शान्ति, समावेशी र विकासको ‘भिजन’ले ‘गोल्डेन अवार्ड’ जित्ने उनको भनाइ थियो ।

केही वर्षभित्रै नेपाललाई विश्वकै सबैभन्दा तीव्र आर्थिक वृद्धिदर हुने मुलुक बनाउने दाबीसमेत प्रधानमन्त्री ओलीले गरे ।

नेपालको संविधान र नेपालले अंगीकार गरेको समावेशी र सामाजिक न्यायको बाटोवापत् सर्बियाको राजधानी बेलग्रेडमा यही अक्टोबर १६ मा अन्तर-व्यवस्थापिका संघको १४१औं सम्मेलनमा नेपाललाई ‘फ्युचर पोलिसी सिल्भर अवार्ड–२०१९’ प्रदान गरिएको थियो ।

सो सम्मेलनमा नेपालबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी भएका थिए ।

सम्मेलनमा उनले ग्रहण गरेको अवार्ड बुधबार प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको हो ।