Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित चार प्रतिस्थापन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित


104
Shares

काठमाडाैं । राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विधान व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदन र संशोधन प्रश्तावहरूलाई स्वीकृत गर्दै सभाले विधेयक पारित गरेको हो ।

विधेयकमाथि सदनमा भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको समसामयिक सुधार र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न यो विधेयक ल्याइएको बताउनु भयो । उहाँले विधेयकलाई समृद्ध बनाउन अमूल्य सुझाव र संशोधन प्रश्ताव पेश गर्ने सांसदहरूप्रति आभार व्यक्त गर्दै प्राप्त सुझावहरूले आगामी दिनमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकका अतिरिक्त अन्य तीन महत्वपूर्ण प्रतिस्थापन विधेयकहरू पनि पारित गरेको छ । पारित हुने अन्य विधेयकहरूमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पती शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ रहेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयको चापका बावजुद विधान व्यवस्थापन समितिले सक्रियतापूर्वक प्रतिवेदन पेश गरी महत्वपूर्ण विधेयकहरू पारित गर्न पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

उहाँले आजैको बैठकबाट चारवटा प्रतिस्थापन विधेयक र दुईवटा आश्रित विधेयक (आर्थिक विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३) पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउन सफल भएको जानकारी दिनुभयो ।